इटहरीः  उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल सहित तत्कालीन नायब महाप्रबन्धकसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उदयपुर सिमेन्ट उद्योगमा उपकरण खरिद गर्ने क्रममा २२ लाख ७६ हजार ३०५ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा उनीहरुविद्ध आरोपपत्र दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको प्राविधिक दृष्टिले रितपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानी गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा उदयपुर सिमेन्ट उद्योगलाई गैरकानुनी हानि पुर्‍याएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

0f1b0b4c-9ab7-4dd2-ba0f-d695e3549c00

प्रवक्ता घिमिरेका अनुसार महाप्रबन्धक पौडेल सहित तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध मुद्दा दायर भएको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा उनीहरुले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि उपकरण खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामाग्री खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।