इटहरीः इटहरीको खानेपानी संस्थानले वितरण गर्ने पानीमा मुसा कुहिएको पाइएको छ । इटहरी–२ आँपगाछी चोकमा पानीको पाइपमा मुसा कुहिएको पाइएको हो ।
केही दिन अगाडि खानेपानीको पाइप मर्मत गरेर त्यत्तिकै छाडिएको थियो । दिउँसो पान वितरण हुँदा पाइप मर्मत गरेको ठाउँमा पानी चुहिएर जम्मा हुने र पानी वितरण बन्द हुँदा त्यही जमेको पानी पाइपमार्फत् उपभोक्ताको घरमा पुग्ने गरेको पाइएको छ ।
जमेको पानीमा कुहिएको मुसाका साथै अन्य फोहर वस्तु भेटिएको स्थानीय बताउँछन् ।
स्थानीय उपभोक्ता रमेशकुमार अधिकारीका अनुसार खानेपानी संस्थानको लापरवाहीका कारण स्थानीयले दूषित पानी पिउनु परेको छ । यो भन्दा पहिले पनि खानेपानी संस्थानले यस्तै गल्ती बारम्बार गरेको उनको भनाइ छ ।
त्यस्तै अर्का उपभोक्ता टङ्क दाहाल पनि खानेपानी संस्थानको लापरवाहीले उपभोक्ता मारमा परेको बताउँछन् । खानेपानी संस्थानले उपभोक्ताको जीवनमा खेलबाड गरिरहेको उनको बुझाइ छ ।