विराटनगरः सरकारको नीति तथा योजना अनुसार कम्पनीमा दर्ता भइसकेका यातायात सङ्घको नाममा रहेको बैंक खाता, चल तथा अचल सम्पत्ति फुकुवा हुनुपर्ने माग यातायात व्यवसायीले अगाडि सारेका छन् ।

सङ्घको नाममा सिण्डिकेट चलाएको आरोप लगाउँदै यातायातसम्बन्धी सङ्घसंस्थाको बैंक खाता र चलअचल सम्पत्तिमा लगाइएको रोक्का संस्था कम्पनीमा दर्ता भएसँगै फुकुवा हुनुपर्ने माग अगाडि सारिएको हो ।

व्यवसायीहरूले कम्पनीमा दर्ता भइसकेका सङ्घको स्वामित्वमा रहेको बैंकिङ पूँजी तथा सम्पत्ति फुकुवा नहुँदा समस्या परेको भन्दै सरकारले व्यवसाय गर्ने सहज वातावरण बनाइदिनुपर्ने माग राखेका हुन् ।

पूर्व नेपाल यातायात व्यवसायी सङ्घबाट कम्पनीमा दर्तापछि विराटनगरमा भएको पहिलो साधारणसभामा यातायात व्यवसायीहरूले सरकारले सरल व्यवस्था मिलाई काम गर्न दिनुपर्ने माग अघि सारेका छन् ।

सरकारले चल तथा अचल सम्पत्तिसहित बैंक खाता रोक्का गरिदिएका कारण शर्तअनुसारको सुविधा उपलब्ध नगराई कर्मचारीलाई बाध्यतावश अवकाश दिनुपर्ने अवस्था आएको यातायात व्यवसायी राजन कँडेल बताउँछन् । तत्कालीन सङ्घका अध्यक्ष कँडेलले बाध्यतमा परेर अवकाश दिनु परेका कामदार तथा कर्मचारीलाई उपदानबापतको रकम दिन नसकिएको बताउँदै त्यसको दोष सरकारले लिनुपर्ने बताए ।

यातायात सङ्घसंस्थाको सम्पत्ति फुकुवा भए कर्मचारीलाई दिनुपर्ने सेवा तथा सुविधाको शर्त पालना गर्न सकिने अर्का व्यवसायी तथा तत्कालीन सङ्घका महासचिव धर्मदेव साह बताउँछन् । विराटनगरलाई आधार बनाएर यातायात सञ्चालन गर्दै आएका सङ्घमध्ये पूर्व नेपाल यातायात व्यवसायी सङ्घमात्रै कम्पनीको प्रक्रियामा गएको साहको दाबी छ ।

दबाबसहित व्यवसाय गर्नुपर्ने बाध्यतामा रहेका यातायात व्यवसायीलाई सरकारले जबर्जस्ती अङ्कुश लगाउँदै कम्पनीमा जानुपर्ने बाध्यतामा पारे पनि तोकिएको कानुन र विधि अपनाएपछि फुकुवा गर्नुपर्नेमा उनको जोड थियो ।
यातायात सङ्घको नाममा सिण्डिकेट सञ्चालन गरिएको आरोप लगाउँदै सरकारले बैंक खाता रोक्का गरिदिएपछि कम्पनीमा दर्ता भएको पूर्व नेपाल यातायात व्यवसायी कम्पनीले ४ महिनामा ९१ लाख ३२ हजार ५ सय ९३ रुपैयाँ आम्दानी र ७२ लाख ८ हजार ३ सय ३९ रुपैयाँ खर्च भएको आर्थिक विवरण पेश गरेको थियो । कम्पनीका कोषाध्यक्ष लीलाहरि घिमिरेका अनुसार बीमा, दुर्घटना, भलाइ कोष, इन्जिन मर्मतमा हुने खर्च यातायात व्यवसायीको राहतमा पर्दछन् ।
कम्पनीमा आबद्ध सवारी दुर्घटनापछि आइलाग्ने विविध खर्चका लागि कम्पनीले ३० स्थानमा राखेको काउण्टरबाट आम्दानी सङ्कलन गर्ने गरेको छ ।
पूर्व नेपाल यातायात व्यवसायी कम्पनीको पहिलो साधारणसभाले शिव कार्की अध्यक्ष, उत्तमबहादुर चौलागार्इं उपाध्यक्ष, धर्मदेव साह महासचिव, विनोद रेग्मी सचिव र लीलाहरि घिमिरेलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ । २१ सदस्यीय सञ्चालक समिति रहेको कम्पनीले राष्ट्रिय राजमार्ग संयोजकमा राजु धमला, मोरङ ग्रामीण संयोजकमा प्रकाश कार्कीसहितलाई जिम्मेवारी तोकेको महासचिव साहले बताए ।