काठमाडौंः  जलवायु परिवर्तनका असर र यसको नियन्त्रण, न्यूनीकरण तथा समाधानका लागि नेकपा एमाले वन तथा वातावरण विभागले बृहत्तर कार्यशाला आयोजना गर्ने विभाग प्रमुख भारती पाठकले बताएकी छन् । विभागद्वारा आयोजित जलवायु परिवर्तनले वातावरण र जनस्वास्थ्यमा पारेको असर र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रमको सभापति तथा बागमती प्रदेशकी सांसद पाठकले सो कुरा बताएकी हुन् । 

जलवायु परिवर्तन र जनस्वास्थ्य एकापसमा जेलिएको विषय भएको बताउँदै पाठकले भनिन्, “कोप-२८ मा पनि धेरै मुद्दाहरू छलफलको विषय बन्यो । नेपालको पनि उपस्थिति रह्यो । तर, हामीकहाँ जलवायु परिवर्तन र प्रदूषणका कारण मानव स्वास्थ्य र वातावरणमा परिरहेको असरबारे कमै छलफल हुँदा रहेछन्”, उनले अगाडि भनिन्, “कोपमा उपस्थित भएर आएपछि वर्तमान सरकारले यस विषयलाई बिर्सिएको हुँदा नेकपा एमालेको वन तथा वातावरण विभागले यस सम्बन्धमा प्रारम्भिक छलफलहरू सुरु गरेको हो । हामी यसलाई बृहत्तर बनाउँदै जानेछौँ ।”

422595332_404868762102001_75765776726040433_n-1140x760

जलवायु परिवर्तन केवल वातावरणको मुद्दामा मात्र सीमित नरही यसका असरहरू जनस्वास्थ्य, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत मानवसँग प्रत्यक्ष जोडिएकाले यस सम्बन्धमा वृहत् अध्ययन, अनुसन्धान, छलफल एवं कार्यशाला आवश्यक रहेको समेत उनले बताइन् ।

“वायु प्रदूषणले मात्रै सन् २०१९ मा नेपालमा ४२ हजार एक सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय अध्ययन छ । तर यसबारे विविध क्षेत्रका स्टेक होल्डरबिच अन्तर्क्रिया र आगामी साझा योजनाहरू देखिएको छैन । हावा र पानी विषाक्त भएर सर्वसाधारणको ज्यान जोखिममा पर्दा समेत राजनीतिक दलहरू नबोलिरहेकाले एमालेले त्यसको सुरुवात गरेको हो”, उनले भनिन् । 

सामुदायिक वन उपभोक्ता महासङ्घको निर्वतमान अध्यक्ष समेत रहेकी पाठकले जलवायु परिवर्तनको असर ठुलाठुला विपद् वा हिमाल पग्लनु मात्र सीमित नरहेर जनस्वास्थ्यसँग जोडिएका विषयहरूमा समेत प्रत्यक्ष देखिन थालेको बताइन् ।

“धानबाली होस्, मौसमी खेती प्रणालीको आएको विचलन होस्, पानीका मुहानहरू सुक्ने कुराहरू हुन् या बढ्दो वन डढेलोको जोखिमहरू हुन्, जलवायुको असरहरू बढ्दो छ । अझ सूक्ष्म रूपले हेर्दा यसबाट बालबालिका, ज्येष्ठ नागरिक, महिला एवं प्रजनन स्वास्थ्यमा गम्भीर जोखिमहरू देखिएको छ”, उनले अगाडि भनिन्, “यी समस्याहरूलाई समाधान गर्नका लागि गम्भीरताका साथ हामीले भित्रैदेखि छलफल प्रारम्भ गर्नुपर्छ । प्रदूषण नियन्त्रण र वातावरणको संरक्षणप्रति अब खेलाँची गरिबस्ने समय हामीसँग छैन ।”

422549297_404868938768650_924946500615817081_n-1140x760

कार्बन उत्सर्जनलाई कम गर्न सवालमा सामुदायिक वन एवं वन क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताउँदै पाठकले भनिन्, “ विकसित मुलुकको उच्च औद्योगिकीकरणले गर्दा विपन्न मुलुकले ठूलो क्षति पुगिरहेको छ । त्यहाँको तीव्र औद्योगिकीकरण जलवायु परिवर्तनका लागि गम्भीर रूपमा जिम्मेवार छ”, उनले भनिन् । नवीकरणीय ऊर्जा विकास, हरित पहल, जल(वायु(जमिन प्रदूषण रोकथामका वैकल्पिक उपायहरूको खोजी र प्रदूषण व्यवस्थापनमा प्रविधि प्रयोग बढाउनु आवश्यक रहेको उनले बताइन् ।

पार्टी कार्यालय च्यासलमा सम्पन्न कार्यक्रममा बोल्दै पाठकले  नेपालले जलवायु परिवर्तनलाई लिएर ज्यादा सचेत रहन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्राडा.जागेश्वर गौतम, कृषि विज्ञ कृष्ण प्रसाद पौडेल, डा.यादव जोशी, डा. अन्नपूर्णा दास, डा। महेश्वर ढकाल, विजय राज पौडेल, श्याम श्रेष्ठ, घनश्याम पाण्डे लगायतका वन, वातावरण तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो । 

425295207_7472115949478787_6521097605210417059_n