काठमाडौंः  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्रान्तिपश्चात् सिर्जित कार्बन जलवायु परिवर्तन केवल वातावरणको मुद्दामा मात्र सीमित नरही यसका असरहरू जनस्वास्थ्य, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत मानवसँग प्रत्यक्ष जोडिएका पक्षहरूमा प्रष्टसाथ् देखिन थालेको बताएका छन् । 

नेकपा एमाले वन तथा वातावरण विभागद्वारा आयोजित जलवायु परिवर्तनले वातावरण र जनस्वास्थ्यमा पारेको असर र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रमका बोल्दै प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले जलवायु परिवर्तन आफैँमा जटिल र जेलिएको विषय भएकाले यसबारेमा व्यापक चासो र चिन्ता आवश्यक रहेको बताउँदै भने, “हामी जलवायु परिवर्तन, जलवायु परिवर्तनका असर, जनस्वास्थ्य तथा जलवायु परिवर्तन र महिला स्वास्थ्य आदि विषयमा कम बोलिरहेका छौँ । दुई वटा चिर्पट बालेर कसौँडीमा भात पकाउँदा कार्बन उत्सर्जन भयो भनेर उफ्रिन्छौँ तर, देशभरका इँटा भट्टाहरूले उत्पादन गरेका धुवाँ, धुलो र बालश्रमका विषयमा बोल्दैनौँ ।” 

8 (1)

नेपाली बजारको रातो इँटा उत्पादन (पोलिएका इँटा) को विकल्पमा बनाइएका ‘हरियो इँट प्रविधि (Green Brick Technolgy)’ को प्रशंसा गर्दै ओलीले भने “जलवायुलाई प्रत्यक्ष असर गर्ने ‘राता इँटा’बाट जति कमाइरहेका छौँ, त्यो भन्दा बढी त्यसबाट निस्किएको धुवाँधुलोका कारण स्वास्थ्य खर्च गरिरहेका त छैनौँ ? हाम्रो पृथ्वीले धान्न नसक्ने र मानव स्वास्थ्यमा प्रतिकुल असर निम्ताउने प्रविधिलाई भन्दा यस्ता नवउद्यमहरूलाई प्रोत्साहन गर्नुपर्छ”, उनले भने । कार्यक्रममा नेपालमा पोलेको इँटा, सिमेन्ट/ कङ्क्रिट ब्लकको विकल्प रूपमा बनाइएको नेपालमै उत्पादित CSEB इँटा Green Brick का सम्बन्धमा एक प्रिजेन्टेसन समेत प्रस्तुत गरिएको थियो । 

422615659_404960528759491_6895252800167296985_n-120x86 1

पार्टी कार्यालय च्यासलमा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जलवायु परिवर्तन स्वाभाविक कारणले मात्रै नभई औद्योगिक क्रान्तिपश्चात्को वैश्विक अर्थतन्त्रको मोडेलले निम्ताएको समेत बताए ।

“प्राकृतिक कारणले हुँदै छन् भने पनि त्यसबारेमा वृहत् अध्ययन, अनुसन्धान गरि यसको नियन्त्रण, न्यूनीकरण र समाधानका उपायहरू खोज्नुपर्छ । हामीसँग सर्वश्रेष्ठ प्राणी भएका नाताले त्यो दायित्व पनि रहेको छ । हामीले कसरी उत्पादन गर्दैछौँ ? कसरी आवासीय क्षेत्रको विकास गर्दैछौँ ? कसरी प्राकृतिक स्रोतसाधनको उपयोग एवं वितरण गर्दैछौँ ? लगायतका विषयमा हामीले गम्भीर छलफल गर्नुपर्छ”, उनले अगाडि भने, “हाम्रोजस्तो देशले जलवायु परिवर्तनलाई लिएर ज्यादा सचेत रहन आवश्यक छ ।”

9

कार्यक्रममा नेकपा एमाले वन तथा वातावरण विभाग प्रमुख भारती पाठक, प्रा.डा. जागेश्वर गौतम, कृषि विज्ञ कृष्ण प्रसाद पौडेल, डा. यादव जोशी,  डा. महेश्वर ढकाल, विजय राज पौडेल, घनश्याम पाण्डे लगायतका वन, वातावरण तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो ।