इटहरीः राजस्व हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा यातायात कार्यालयका चार प्रमुखसहित १७ जना कर्मचारीले सफाइ पाएका छन् । यातायात व्यवस्था कार्यालय, इटहरीका कर्मचारीविरुद्ध राजस्व हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले मंगलबार सफाइ दिएको हो ।  

यातायातका तत्कालीन कार्यालय प्रमुखहरू नयराज नेपाल, तीर्थराज लम्साल, गोपाल थपलिया र भूपेन्द्र राईले सफाइ पाएका हुन् । उनीहरूमध्ये नेपाललाई एक करोड आठ लाख, लम्साललाई तीन करोड ३० लाख, थपलियालाई एक करोड ३० लाख र राईलाई ५६ लाख १२ हजार रुपैयाँ बिगो थियो । 

त्यस्तै, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल सुरेश अधिकारी, रुद्रप्रसाद दाहाल, अर्जुन भट्टराई, कृष्णप्रसाद कट्टेलले पनि सफाइ पाएका छन् । लेखा अधिकृत अधिकारीलाई एक करोड २५ लाख, लेखापाल सुरेश अधिकारीलाई तीन करोड ७२ लाख, लेखापाल दाहाललाई तीन करोड ४८ लाख, लेखापाल भट्टराईलाई दुई करोड १७ लाख र लेखापाल कट्टेलविरुद्ध ७३ लाख ६२ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो । 

०७३ को चैतदेखि ०७४ को असारसम्मको राजस्व हिनामिना गरेको अख्तियारको दाबी थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सफाइ दिएको हो । करारका कम्प्युटर अपरेटरहरू सुजन राई, राकेशरोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुंगेल, दीपेन्द्र मण्डल, मैयाकुमार चापागाईं र रविनकुमार विश्वासले पनि सफाइ पाएका छन् । २५ जेठ ०७७ मा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । यस भ्रष्टाचारमा मुछिएका लेखापाल सुरेश अधिकारी यातायात कार्यालयकै अन्य भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन् ।-नयाँ पत्रिकाबाट