धनकुटाः  धनकुटाको दुई स्थानीय तहमा धुवाँरहित स्वच्छ भान्सा निर्माणका लागि विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०३० सम्ममा धुवाँरहित भान्सा बनाउने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा आएको हो । 

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) र ऊर्जा नेपालको सहयोगमा अजम्बरी विकास फाउन्डेशन ललितपुरले गत भदौदेखि उक्त कार्यक्रम सञ्चालन ल्याएको हो । यस कार्यक्रमबाट सरकारले लिएको स्वच्छ भान्सासम्बन्धी लक्ष्य पूरा गर्न महत्वपूर्ण सहयोग पुग्ने यूएसआईडीका स्थलगत वरिष्ठ अनुगमनकर्ता दुर्गादेवी खड्काले जानकारी दिइन। 

उनका अनुसार कार्यक्रमअन्तर्गत फाउण्डेसनले धनकुटामा ३२ र छथर जोरपाटीमा २० गरी ५२ वटा विद्युतीय इन्डक्सन चुला र भाँडा निःशुल्क वितरण गरेको छ । एक वर्ष समय अवधिसम्म सञ्चालनमा रहने उक्त कार्यक्रमअन्तर्गत चुलो वितरणपछि नगरका १० र पालिकाका छ वडामा सचेतना कार्यक्रम सम्पन्न भएका छन् । 

‘स्वच्छ भान्छा सामाजिक सञ्जाल प्रतियोगिता’, विद्युतीय चुलो बनाउने तालिम, महिला नेत्री तथा पत्रकारसँग अभिमुखीकरणलगायत थप कार्यक्रम सञ्चालन गरिने खड्काले जानकारी दिइन ।  कार्यक्रमले आयातित ग्यासको सट्टा स्वदेशको विद्युत प्रयोग गर्ने वैकल्पिक ऊर्जाका रुपमा प्रोत्साहन गर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए। विद्युतीय चुलोको प्रयोगबाट ग्रामीण क्षेत्रका भान्सामा दाउराको कमी आएमा भान्सा र वातावरण दुवै स्वच्छ हुने उनको भनाइ थियो । रासस