इटहरीः  कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । 

शुक्रबार बिहान दुवै पक्षबीच भएको वार्ताले पाँच बुँदे सहमति तय गरेको हो ।सहमतिमा फागुन १० गतेअघि अर्को वार्ताको समय मिलाउने लगायत पाँच बुँदामा सहमति भएको छ । 

सहमतिको पहिलो बुँदामा ‘प्रदेशको पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडी बढाउने’, भनिएको छ ।

दोस्रो बुँदामा आन्दोलनरत पक्षले आन्दोलनको स्वरूप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अघि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने सहमतिको सहमति भएको छ । 

त्यसैगरी, पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचार व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने उल्लेख छ ।

426920250_1261622161431961_578250474640410426_n

त्यस्तै, पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरूको रिहाइ र मुद्दा लागेका व्यक्तिहरूको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने सहमतिको भरिएको छ भने पाँचौँ बुँदा ‘दुवै पक्षका वार्ता समिति संयोजकहरूले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने भनिएको छ ।

शुक्रबार सरकारी वार्ता टोली र पहिचान पक्षधर वार्ता समितिका सदस्यबीच छलफल भएको थियो । यसअघि बिहीबार पनि दुई पक्षबीच वार्ता भएको थियो । प्रारम्भिक छलफलपछि शुक्रबार बिहान भएको वार्तामा सहमति जुटेको पहिचान पक्षधर वार्ता समितिका सदस्य दिवस राईले जानकारी दिए  ।