इलामः चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक अनसन बस्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सरकारलाई दिएको अल्टिमेटको मिति नजिकिएसँगै उनी अनसन बस्ने स्थानको विषयमा इलाममा चर्चा शुरु भएको छ ।

सामाजिक सञ्जालमा डा. केसी नारायणथानमा अनसन बस्ने चर्चा चले पनि हालसम्म स्थान भने टुङ्गो नलागेको उनका समर्थक एवम इलामका अग्रज पत्रकार धर्म गौतमले बताए । उनले आज सरकारलाई सहमति कार्यान्वयन नभए पुनः अनसन थाल्ने चेतावनी दिएका छन् ।

सहमतिविपरीत संसदीय उपसमितिले चिकित्सा शिक्षा विधेयक तयार गरेको भन्दै समितिले त्यसलाई सुधार नगरे पुनः अनसन थाल्ने केसीले चेतावनी दिएका हुन् । प्रदेश पोर्टलकर्मीसँग कुरा गर्दै उनले संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापतिले समेत प्रतिबद्धता जनाएकाले अघिल्लो अनसन तोडेको भन्दै अहिले फेरि माफियाको चङ्गुलमा परेर विधेयक परिमार्जन गर्न लागिएको आरोप लगाए । संसदीय समितिले उपसमितिको मस्यौदा परिमार्जन नगरे पूर्वनिर्धारित समयअघि नै अनसन थाल्ने उनले चेतावनी दिए ।

यसअघि गत पुस १७ गते अनसन बस्नका लागि केसी इलाम आएका थिए । संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिद्वारा केही दिनका लागि समय माग गरेपछि उनले पुस २५ गतेसम्मको लागि समयसीमा दिएका थिए । सरकारले चिकित्सा शिक्षा विधेयक संशोधन गरेर माग सम्बोधन गर्ने २ दिनको समय माग गरेपछि उनले ७ दिनको समय दिएर इलाममा बस्ने तयारी भएको अनसन स्थगित गरेका थिए ।

अनसन स्थगनपछि इलाममा पत्रकार सम्मेलनमा बोल्दै उनले अनसन इलाममा नै बस्ने सम्भावना भएको बताएका थिए ।