खोटाङः  जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा दोषी स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ । २०६९ सालमा हलेसी पोली क्लिनिक दिक्तेलमा उपचारका क्रममा लापरवाहीका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको भन्दै मृतक परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जिवानन्द मेहतालाई पक्राउ गरेको हो ।

नक्कली प्रमाण–पत्रधारी मेहताले ‘डाक्टर हुँ’ भन्दै उपचार गर्नेक्रममा पोली क्लिनिकमा उपचारका क्रममा राईको १७ फागुन २०६९ साँझ मृत्यु भएको थियो । ५ मिनेटको अन्तरमा दुईवटा सुई लगाइएका राईको ५ मिनेटपछि मृत्यु भएको भन्दै मृतकका आफन्त देवीसरा राईले १४ चैत २०६९ मा मेहताविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । मेहतालाई २४ माघमा घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

छानबिनका क्रममा उपचारमा संलग्न डाक्टर मेहताले नक्कली प्रमाण–पत्र पेस गरेर पोली क्लिनिकमा काम गर्दै आएको खुलेपछि मृतक परिवार किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तत्कालीन अवस्थामा आयुर्वेदमा एचए उत्तीर्ण गरेका मेहताले चीनबाट एमबीबीएस गरेको नक्कली प्रमाण–पत्र पेस गरेर उपचार गरिरहेको खुलासा भएको थियो । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले सोही दिनदेखि महिना दिनसम्म पोली क्लिनिक बन्द गराएका थिए ।

जिल्ला प्रशासन कार्यालयको रोहबरमा बसेको सर्वपक्षीय बैठकमा दुवै पक्षबीच मृतकको उपचारमा संलग्न मेहतालाई कारबाही गर्ने, पोली क्लिनिकको सेवा सुविधालाई पारदर्शी ढंगले सञ्चालन गर्ने, एमबीबीएस डाक्टर राखेर मात्र पोली क्लिनिक सञ्चालन गर्ने, सार्वजनिक सूचना आह्वान गरेर मात्र कर्मचारी छनोट गर्नेलगायतका बुँदामा सहमति भएपछि बन्द पोली क्लिनिक २९ चैत २०६९ देखि खुलाइएको थियो ।

नक्कली डाक्टरले उपचार गर्दा बिरामीको मृत्यु भएको हल्ला फैलिएपछि बिरामी जान छाडेपछि पोली क्लिनिक स्वतः बन्द भएको थियो । प्रहरीले सोही पोली क्लिनिक सम्बद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का महेशप्रसाद शाह र बोदेबर्साइन नगरपालिका–२ का अशोककुमार साहलाई पनि अनुसन्धानका लागि २८ माघमा पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।