इटहरीः व्यवसायिक रेडियोहरुको साझा संस्था ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान)ले मंगलबार १३ औं विश्व रेडियो दिवस इटहरीमा मनाएको छ । बान कोशी प्रदेश समितिको आयोजनामा सुनसरीको ईटहरीमा अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाएको छ ।
बान कोशी प्रदेश समिति अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले सञ्चारमा प्रबिधिको विकास भए पनि रेडियोनै सञ्चारको प्रभावकारी माध्यम भएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले मुलुकको हरेक राजनैतिक परिवर्तन देखी समाजिक परिवर्तन समेतमा रेडियोको महत्वपुर्ण भुमिका रहेको बताए ।
प्रविधिहरुमा आएको विकाससँगै रेडियो सञ्चालनमा केही चुनौति आएको भए पनि अहिले रेडियो सञ्चारको प्रभावकारी माध्यम भएको बताए । प्रदेश सरकारले हालै प्रदेशसभामा सञ्चार सम्बन्धि विधेयक पेश गरेको भन्दै उनले यो विधेयक पास भए पछि धेरै कानुनी समस्या समाधान भएर जाने दाबी गरे । उनले कोशी प्रदेशमा रहेका व्यवसायिक रेडियोहरुलाई बचाई राख्न प्रदेश सरकारको तर्फबाट आवश्यक भुमिका निर्वाह गर्न तयार रहेको बताए ।
कार्यक्रममा बानका केन्द्रिय सल्लाहकार प्रेम बस्नेत, केन्द्रिय सदस्यहरु हिमाल राई र बाबुराम निरौला, पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खड्का, ईटहरी उद्योग वाणिज्य संघकी उपाध्यक्ष सोभा कोईराला लगायतले बोल्दै अहिले पनि सञ्चारमा रेडियोनै प्रभावकारी रहेको भन्दै पछिल्लो समय रेडियो सञ्चालन व्यवस्थापनमा चुनौती थपिएको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बानका पुर्व केन्द्रिय सल्लाहकार चेतन धमलाले रेडियो सञ्चालन चुनौती र संभावना बिषयमा अबधारणापत्र प्रस्तुत गरेको बान कोशी प्रदेश उपाध्यक्ष अरबिन्द मेहताले जानकारी दिए ।