फिदिमः खानेपानीको अभाव रहेको पाँचथरको यासोकमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ ।
कुम्मायक गाउँपालिकाको केन्द्र रहेको यासोक बजार छेउको उत्तिसे भन्ने स्थानबाट खानेपानी निकालिएको हो । सो क्षेत्रमा खानेपानी समस्या तत्कालीन रूपमा समाधान गर्ने उद्देश्यले प्रदेश नम्बर नं १ सरकारले विनियोजन गरेको १ करोड बजेटबाट कुम्मायक गाउँपालिका–४ उत्तिसे र वडा नं ५ निगालेमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकाल्ने योजना अघि बढेको हो ।
त्यस्तै, निगालेबाट पनि आगामी एक हप्ताभित्र नियमित रूपमा खानेपानी निकाल्न थालिने बताइएको छ । बोरिङबाट निकालिएको खानेपानी निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजनाको पाइपलाइनबाट वितरण हुने बताइएको छ ।
खानेपानी आयोजनाबाट कुम्मायक गाउँपालिका– १, ४ र ५ का झण्डै २ हजार ५ सय परिवार लाभान्वित हुनेछन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले बोरिङ प्रविधिबाट पानी निकालेर वितरण गरी खानेपानीको समस्या तत्कालका लागि समाधान गर्न लागिएको बताए ।
कुम्मायक गाउँपालिकाले प्रतिलिटर ६० पैसामा स्थानीयवासीलाई खानेपानी बिक्री गर्दै आएको छ । यसअघि स्थानीय व्यवसायीले प्रतिलिटर दुई रुपैयाँमा खानेपानी बिक्री गर्दै आएका थिए । सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसमा खानेपानीको अभाव छ ।
खानेपानी समस्या समाधान गर्न ५१ करोड रुपैयाँको लागतमा सो क्षेत्रमा विगत दुई वर्ष अघिबाट तमोर लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ ।