इटहरीः जटिल रोगबाट पीडित बेलबारी–९ बेलौरी टोलका दिदीभाइ आश्मा धिमाल र आर्यन धिमालको परिवारलाई बेलबारीका जनप्रतिनिधिले न्यानो कपडा वितरण गरेका छन् । यसअघि बेलबारी नगरपालिकाले दिदीभाइको उपचारमा सहयोग गर्ने बताएको थियो ।

बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीका अनुसार लामो समयदेखि अनौठो र पहिचान समेत खुल्न नसकेको जटिल रोग पालेर दिदीभाइ बसिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनीहरू रोग पालेर बस्न बाध्य भएको थाहा पाएपछि नगरपालिकाले उनीहरूको उपचारमा सहयोग गर्ने बताएको थियो ।

परिवारको आर्थिक अवस्था पनि दयनीय भएको थाहा पाएपछि बेलबारीका ५ जना जनप्रतिनिधि र एक जना समाजसेवीले परिवारको लागि न्यानो कपडा वितरण गरेको उपमेयर पराजुलीले बताइन् ।

‘बेलबारीको वडा नम्बर ११ मा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा मैले फरक प्रकृतिका २ जना रोगी देखेँ । तिनीहरु दिदीभाइ रहेछन्,’ पराजुलीले भनिन्, ‘उनीहरुले हामीसँग सहयोग मागेका पनि होइनन् । शिविरको लागि लाइफगार्ड हस्पिटल काठमाडौंबाट टोली आएको थियो । डाक्टरहरुसँग रोगको बारेमा सोध्दा जटिल किसिमको रोग हो भन्ने जानकारी पाएँ ।’

त्यसपछि उनीहरुलाई नगरपालिकामा बोलाएर सबै कुरा बुझ्दा पहिले १ पटक अस्पतालमा उपचारको लागि जाँदा रोगको उपचारमा धेरै रकम लाग्छ भनेपछि रोग पालेर बसेको जानकारी पाएको उनले बताइन् । त्यसपछि मेयर ज्ञानेन्द्र सुुवेदीसँग सल्लाह गरी उनीहरूको उपचारमा सहयोग गर्ने निर्णय गरेको पराजुलीले बताइन् ।

नगरपालिकाले उपचारमा सहयोग गर्ने भएपछि आर्थिक अवस्था कमजोर भएको परिवारका लागि न्यानो कपडा जनप्रतिनिधिका तर्फबाट दिइएको उनले बताइन् । आफूसहित वडा नम्बर ३ की जनप्रतिनिधि निशाकिरण राई, वडा नम्बर ४ की गीता शिवा, वडा नम्बर १ की बिन्दुकला गुरुङले सहयोग गरेको पराजुली बताउँछिन् । त्यस्तै, वडा नम्बर २ की जनप्रतिनिधि खिनामाया बस्नेत र वडा नम्बर २ की समाजसेवी ईश्वरी गुरुङले परिवारका सबै सदस्यको लागि न्यानो कपडा लगिदिएको उनले बताइन् ।

बिरामीहरूको उपचारमा सहयोग पुगोस् र सहयोग आउने क्रम बढोस् भनेर आफूहरुले सहयोग गरेको र सामाजिक सञ्जालमार्फत् धेरैलाई जानकारी पनि गराइरहेको पराजुलीले बताइन् । उनीहरूको उपचारको लागि भोलि बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने तयारी भएको पनि उनले जानकारी दिइन् ।

rogilai nyano kapada belbari  (2)