झापाः झापा बिर्तामोड–२ चारपानेका १८ वर्षीय उज्ज्वल शाह कक्षा १२ सम्मको अध्ययन पुरा गरेर बसेका विद्यार्थी हुन् । निधी कलेजबाट कम्प्युटर साइन्समा कक्षा १२ पास गरिसकेका उनी नियमित सिटी सफारी चलाउँदै आएका छन् ।

एसइई सकेर कलेज जीवन सुरु गरेदेखि उनले सिटी सफारी चलाइरहेका छन् । बिहान कलेज र दिनभर सिटी सफारीमा भेटिने उनी सानै उमेरमा स्वरोजगार बनेका छन् । उनको मेहनत देखेर साथीभाइ र परिवार दङ्ग छ । दिनको समय उपयोग गर्न सिटी सफारी चलाउने योजनाका साथ काम गरेका उनले अब बिबिएस अध्ययन गर्ने तयारी गरिरहेका छन् ।

उनी भन्छन्, बिहान कलेज सकेपछि दिनभरको समय बच्ने भयो । दिनभरको समयलाई उपयोग गर्न आफै सिटी चलाउने योजना बनाएर काम थालेको थिए । ६ बजेदेखि १० बजेसम्म कलेज सकिन्छ, उनले भने – त्यसपछिको समय उपयोग गर्न यता लागेको हुँ । अहिले कलेज पनि छैन, बिहानैबाट काममा लाग्छु । साँझ ८ बजेसम्म घर पुगिसक्छु ।

दुई वर्षदेखि सिटी सफारी चलाउँदै आएका शाह मध्यम वर्गीय परिवारका छोरा हुन् । बुबाकै आम्दानीबाट अध्ययन गर्न सक्ने भए पनि उनले परिवारमा सहयोग गरेरै अध्ययन गर्ने योजना बनाएको बताउँछन् । अर्काको काम गर्दा धेरै कठिनाइहरू आइपर्छन्, उनले थपे – ‘आफ्नोमा काम गर्दा धेरै सहजताहरू हुन्छन् । अरूले दिएको जागिरमा समय व्यवस्थापन र घरको काममा ध्यान दिन गाह्रो हुन्छ । त्यसैले आफै काम थालेको हुँ ।’

सधैँ कलेज सकेर सानो ब्याग भिरेर सडकमा निस्किने उज्ज्वल दैनिकी सडकमा यात्रुहरूलाई गन्तव्यमा पुराएरै बित्ने गरेको छ । उनले काम सानो ठुलो नहुने भन्दै सबै खाले कामको सम्मान गर्न आग्रह गरेका छन् । त्यति मात्र होइन, उज्ज्वले आफै रोजगार गर्नुपर्नेमा जोड दिएका छन् ।

कलेजमा कतिपयले सिटी चलाउने विषयमा सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया दिने गरेको बताए । उनले साथीहरूको हौसलाले पनि उनलाई काम गर्न उत्प्रेरणा मिलेको छ । लाज नमानी काम गर्दा स्वदेशमै केही गर्न सकिने साहस बढेको शाहको भनाई छ । सुरुसुरुमा धेरैले गिज्याए पनि उनी मेहनतबाट पछि हटेनन् ।

उनका बुबा गौतम शाहले छोराको कामप्रति खुशी व्यक्त गरेका छन् । आफ्नो छोराको कामबाट धेरैले सिक्नुपर्ने बताए । स्वदेशमै बसेर पनि धेरै सम्भावनाहरू पुरा हुने उनको बुबाको धारणा छ । सानैदेखि आफ्नो देशमा बसेर काम गर्नेहरूका कारण देशलाई पनि फाइदा हुने बुबाको भनाई छ । युवा पलायन बढिरहेको बेला छोराले घरमै बसेर अध्ययनसँगै रोजगारी गरेकोमा परिवार खुशी छ । उज्ज्वलले दैनिक १ हजारदेखि २५ सयसम्म आम्दानी हुने गरेको बताए ।