खोटाङः खोटाङको सुदूरदक्षिण क्षेत्रमा अवस्थित वराहपोखरी गाउँपालिकाको कामकाज विद्यालयको टहराबाट सञ्चालन गरिँदै आएको छ ।
स्थानीय बालकन्या आधारभूत विद्यालयले दिएको टहरामा स्थानीय सरकारको सम्पूर्ण काम हुन्छ । एउटा कोठा भएको उक्त टहराभित्र दर्ता चलानी शाखादेखि लिएर गाउँपालिका अध्यक्ष बस्नेसम्मको ठाउँ लहरै छ । धुलोमाटोको कक्षाकोठामा केटाकेटीलाई शिक्षकले पढाइरहेको अवस्थाभन्दा पनि नाजुक छ गाउँपालिकाको अवस्था ।
एउटै टहराभित्र लहरै राखिएका टेबल कुर्सीको पछाडिपट्टि कागजमा लेखिएको छ, दर्ता चलानी, योजना तथा अनुगमन शाखा, सूचना तथा प्रविधि शाखा, कृषि, पशु, महिला तथा बालबालिका शाखा, शिक्षा एकाइ, स्वास्थ्य, प्रशासन, प्राविधिक फाँट, लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृत कक्ष ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिकाका सदस्य अन्य कर्मचारी बसिसकेपछि मात्रै बाँकी रहेको कुर्सीमा बस्ने गर्छन् । ठाउँ अभावले बेञ्चमा बस्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । चाँडै व्यवस्थित भवन बनाउने योजना रहेको उनले बताए ।
भवन निर्माणका लागि गाउँपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरिसकेको बताइएको छ । भवन निर्माणका लागि स्थानीयवासीले ३७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष उपाध्यक्ष गोमा मगरले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले एउटै टहराबाट सबै प्रकारको सेवा प्रवाह गर्दा सेवाग्राहीलाई असहज भएको बताए ।