इटहरीः  इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको छ । 

बर्षेनी इटहरीमा बाढीले दुःख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाएको हो । मंगलबारबाट इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाए ।

क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर खोला पैनी पुगेका थिए । मेयर पौडेलले बारम्वार सुचना जारी गर्दा पनि नभत्काए पछि उपमहानगर आफैले भत्काउन सुरु गरेको बताए ।  

 कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको भनाइ छ ।  टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६/६ मिटर नछोडिकन बनेका भवन संरचना हटाउन सुरु गरेको जनाए । 

IMG_6858

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ । ठूलो पानी पर्दा त इटहरीमा भयावह स्थिती सिर्जना हुने खतरा रहन्छ । जसले गर्दा हरेक बर्खाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन् ।  अब आउँदो बर्खामा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउँन इटहरी उप–महानगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेको हो मेयर पौडेलको भनाई छ । इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन् ।  तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३, ४, ९, १०, ११ र १२ नम्बर वडा छन् ।  २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो । 

अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो ।  इटहरीमा २०७४ र २०७८ कात्र्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरि दिएको थियो । त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो ।  त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो ।  विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन् । तर, त्यस दिन इटहरीका मानववस्तीमा बाढी प्रवेश गरेको थियो।

IMG_6859

२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो ।  यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे ।  जताततै खोला पैनी वा पानी बग्ने निकाशका ठाउँहरु खुला थिए ।  जसले गर्दा सहजै पानी निकास हुने गथ्र्याे। जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दिर्घकालीन योजना बनाएर सदाँका लागि तटबन्ध नलगाउनु जस्ता कारणले पनि इटहरीका बासीन्दा पीडित हुँदै आएका छन् । 

गत साउन ९ गतेदेखि प्रविधिक टोलीले इटहरी उपमहानगरपालिका वडा नम्बर २ बाट काम थालेको थियो । अध्ययन अनुसार ७४ वटा संरचनाहरू खोला मिचेर बनाइएको पाइएको छ । जसमध्ये २२ वटा आरसिसी (पक्की) भवन निर्माण भएका छन् । यस्ता संरचनामा घर, सरकारी तथा सामुदायिक भवन, विद्यालय र चर्च समेत छन् । अन्य संरचनामा गाईबस्तुका गोठ, सुँगुरका खोरहरू रहेको पाइएको छ । अध्ययन अनुसार धेरै ठाउँमा व्यक्तिको जग्गामा खोला बगेको भेटिएको छ भने खोलाको जग्गामा संरचना बनेका छन् ।