इटहरीः कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले शिक्षा क्षेत्रलाई कसरी सुधार्न सकिन्छ भनेर नीतिगत सुधार गर्न मन्त्रालय गम्भीर रहेको बताए । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सुनसरीद्वारा सञ्चालित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयको एक कार्यक्रममा उपस्थित हुँदै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

“प्राविधिक शिक्षालाई व्यवस्थित एवं गुणस्तरीय बनाउन तथा जीवनोपयोगी शिक्षाद्वारा जनशक्ति उत्पादन गर्ने दिशामा हामी अगाडि बढेका छौँ”, उनले अगाडि भने, “प्लस टू पास गरेर विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जाने र फर्केर नआउने, उतै पलायन हुने दुरावस्था छ । यसलाई रोक्नका लागि पनि प्राविधिक शिक्षालाई हामीले विशेष प्राथमिकतामा राखेका छौँ ।” मन्त्री कार्कीले यस कार्यका लागि विज्ञहरूको एक टिम शीघ्र गठन गर्ने तयारी थालेको समेत बताए । 

WhatsApp-Image-2024-03-30-at-8.24.18-PM

नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय, इटहरीका अध्यक्ष  एकचन्द्र बरालले देशमा विज्ञान–प्रविधिमा आधारित प्राविधिक शिक्षाको आवश्यकता र औचित्य बढ्दै गएकोले तीनै तहको समन्वयमा सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिए । शिक्षालाई श्रमसँग ,श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोडेर लैजानु पर्ने बताउँदै उनले शिक्षाले सिप दिन नसक्दा आज डिग्री होल्डरहरू पनि विदेश पलायन हुन बाध्य भएको बताए ।