विराटनगरः प्रदेश १ को कृषि मन्त्रालयले उत्पादनमा जोड दिने कार्यक्रम ल्याउने बताएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कार्यक्रम गतिशील ढङ्गले अगाडि बढाएको सचिव हस्तबहादुर विष्टले जानकारी दिएका छन् ।

चालु आर्थिक वर्षमा मन्त्रालयको करिब ३ अर्ब ७४ करोड बजेट रहेको छ । वर्षको शुरुमा कार्यालय व्यवस्थापनमा लागेको मन्त्रालयले कार्यालय व्यवस्थापनसँगै कामलाई अगाडि बढाएको हो । मन्त्रालयले पशुहरूका लागि एम्बुलेन्सदेखि कृषि फार्मको स्थापना र सुधारमा जोड दिएर अघि बढेको छ ।

खाद्यान्नमा आत्मानिर्भर भए पनि माछामा प्रदेश १ आत्मनिर्भर हुन सकिरहेको छैन । प्रतिव्यक्ति करिब १४ किलोग्राम मासुको आवश्यक्ता महसुस गरिए पनि अहिले १२ केजीमात्रै उत्पादन भइरहेको छ । यस्तो उत्पादन वृद्धिका लागि कृषि ज्ञान केन्द्रमार्फत् काम गर्ने मन्त्रालयको योजना छ । पुरानो कृषि कार्यालय जस्तो प्रदेशमा यस्ता ११ वटा कार्यालय स्थापना गरिएको छ ।

प्रदेश नम्बर १ धानमा आत्मनिर्भर भए पनि मकै भने कम उत्पादन हुन्छ । खास गरेर दानाका लागि मकैको प्रयोग बढी हुने भएकाले पनि त्यसका लागि विशेष योजना बनाएर मकै उत्पादनको क्षेत्रमा काम गर्न लागिएको विष्टले जानकारी दिए ।

अर्गानिक चिया, अलैची र अदुवा खेतीको प्रवद्धर्नमा प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको चर्चा गर्दै कृषिमा देश भरकै उत्कृष्ट प्रदेश बनाउने अभियानमा लागेको उनले बताए । प्रदेश नम्बर १ दूधमा आत्मनिर्भर भए पनि त्यसलाई व्यवस्थित गरेर मिल्क होलिडे हटाउने योजना राखिएको र यसबाट किसानले ठूलो फाइदा लिने उनको भनाइ थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री शेरधन राईले यसपटक कृषिको जग बसाउने र प्रदेशलाई कृषि क्षेत्रमा समृद्ध बनाउने योजनाका साथ लागेको बताए ।
प्रदेशको कृषि क्षेत्रलाई अगाडि बढाउनका लागि किसानहरूको सहभागितामा कृषि कार्यक्रम ल्याइएको बताउँदै योजना शुरु भइसकेको समेत जानकारी मुख्यमन्त्री राईले दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले प्रदेशभर ३२ वटा कार्यालय स्थापना गरी काम अगाडि बढाएको छ । प्रदेशका १४ वटा जिल्लामा ३२ कार्यालयसँगै ९ वटा सम्पर्क कार्यालय समेत स्थापना भएका छन् । ५ सय ६३ दरबन्दीमध्ये ३ सय ५६ कर्मचारी मन्त्रालय अन्तर्गतका कार्यालयमा हाजिर भएका छन् । समायोजनसँगै सबै कर्मचारी मन्त्रालयमा आइपुग्ने र अब बजेट खर्च गर्न गाह्रो नहुने विष्टले जानकारी दिए ।