तेह्रथुमः तेह्रथुम र सङ्खुवासभाको सीमावर्ती तीनजुरे मिल्के जलजले क्षेत्रका पर्यटकीय बजारमा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार भएको छ ।

सो प्रशारणबाट गुफाबजार, सुकेबजार र जोरपोखरी बजारमा एकसाथ विद्युत् विस्तार गरिएको बताइएको छ । विद्युत् विस्तार भएपछि बजार क्षेत्रमा हुने गरेको अन्धकार हटेको छ । चैनपुर नगरपालिका–१, नुनढाकीस्थित उक्त बजारमा विद्युत् विस्तारपछि आइतबारबाट बत्ती बल्न थालेको बताइएको छ ।

१७ वर्षअघि निर्माण गरिएको आयोजनाका उपकरणमा समस्या आएपछि ५ वर्षयता भरपर्दो विद्युत् सेवा थिएन । आयोजना सञ्चालन हुँदाका बखत समेत स्थानीयवासीले पर्याप्त विद्युत् उपभोग गर्न पाउँदैनथे । विद्युत्मा भएको समस्याबारे पटकपटक स्थानीय सरकारदेखि सांसदसम्मलाई सुनाएपछि विद्युतीकरण भएको हो । विद्युतीकरणका लागि २ वर्षदेखि प्रयास हुँदै आएको स्थानीय बताउँछन् ।