धरानः धरानका निर्माण व्यवसायी अनुज भट्टराई सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् ।

परिवारका अनुसार हिजो बिहान ८ बजे विराटनगर जान्छु भनेर उनी घरबाट हिँडेका थिए । विराटनगर सडक डिभिजन कार्यालयमा भुक्तानी लिन भनेर घरबाट हिँडेपछि फर्केर नआएको परिवारले जनाएको छ । उनको अपहरण भएको आशङ्कामा इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको बुबा रमेश भट्टराईले बताए ।

परिवारले ९ बजेतिर फोन गर्दा फोन सम्पर्क भएको तर १२ बजेतिर छोराको मोबाइलबाट ‘अनुज मसँग छ, पछि कल गरौला बाइ’ भनेर म्यासेज आएको बुबा रमेशले बताए । धरान–भेडेटार सडकखण्डमा पर्ने निशाने पहिरोको मर्मत ठेक्काबापतको रकम भुक्तानी लिन भनी उनी घरबाट हिँडेको परिवारले जनाएको छ ।

भट्टराई सोमबार कार्यालयमा नआएको सडक डिभिजन कार्यालयले जनाएको छ । प्रहरीले मोबाइल ट्रेस गर्दा काँकडभिट्टासम्म मोबाइल टावर देखिएको जानकारी दिएको छ । प्रहरीले दिएको जानकारीअनुसार बिहान साढे ८ बजे भानुचोकमा उनलाई हिँड्दै गरेको अवस्थामा सिसी टिभीले कैद गरेको थियो ।