भोजपुरः मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवा सडक कालोपत्रे गर्ने काम शुरु भएको छ । विभिन्न ५ वटा खण्डमा काम भइरहेकोमा पहिलो खण्डको साढे ७ किलोमिटरमा कालोपत्रे शुरु भएको हो ।

भोजपुरको देउरालीचोकदेखि शेराखोलासम्मको कालोपत्रे भइरहेको छ । दोस्रो खण्डअन्तर्गत साढे ७ किलोमिटर ग्राबेल तथा स्ट्रक्चर र तेस्रो खण्डअन्तर्गत ८ किलोमिटरमा कटिङको काम तीव्र रूपमा भइरहेको इञ्जिनियर रवीन्द्र महर्जनले बताए ।

चौथो खण्डअन्तर्गत १० किलोमिटर र पाँचौँ खण्डको १० किलोमिटरको स्ट्रक्चर र कटिङको काम भइरहेको सडक आयोजनाले जनाएको छ । सबै प्याकेजको प्रगति हेर्दा करिब ६० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर महर्जनले बताए । सडकको स्तरोन्नतिको काम रोमन गोल्डेन जेभी, सेक्लोक वीर कन्स्ट्रक्सन, लामा गोल्डेन गुड कन्स्ट्रक्सनले लिएका छन् । सडक निर्माणमा सरकारले १ अर्ब ४० करोड, ९७ लाख ५२ हजार ३ सय ४८ रुपैयाँ छुट्याएको बताइएको छ ।

सम्झौताअनुसार २०७५ चैत अन्त्यमा सम्पन्न गरिसक्नपर्नेु भए पनि पछि १ वर्ष म्याद थप गरिएको महर्जनले बताए । वर्षात्को समयमा निर्माणका लागि चाहिने बालुवा, गिटी, ढुङ्गालगायतको सामान ढुवानीमा समस्या हुने गरेकाले काममा केही ढिलो हुने गरेको आयोजनाको भनाइ छ ।

सडक भोजपुरबाट खोटाङको सिमाना चखेवासम्म ४० दशमलव ५ किलोमिटर रहेको छ । सडक आयोजनाको कामले तीव्रता पाएपछि सो सडक भएर जिल्लाको पश्चिमी भेग हुँदै खोटाङको दिक्तेल हुँदै यात्रा गर्नेलाई सहज हुने छ ।

bhojpur chakhewa sadak.jpg 1 1