काठमाडौँः  देशव्यापी रूपमा बढेको तातो हावाको लहर तथा डढेलोले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा गर्मी बढाएको छ । यसले दीर्घकालीन असर पर्ने देखिएको छ । एक साता बितिसक्दा पनि डढेलोको प्रकोप देशका विभिन्न वन क्षेत्रमा बढ्दै जाँदा सगरमाथालगायतका हिमालमा त्यसबाट सिर्जित धुवाँ अर्थात् कार्बन थुप्रिन थालेको विज्ञहरूको भनाइ छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका जल तथा मौसम वैज्ञानिक डा.मदनलाल श्रेष्ठका अनुसार जलवायु परिवर्तनले ल्याएको तातो र डढेलोको धुवाँले हिमालमा तराईको भन्दा बढी गर्मी तुल्याएको छ । उनले भने, “यस्तै तातो र डढेलो बढेमा हिमनदी विलीन भएको देख्न पाइने छ ।” 

कालोपनले सूर्यको किरण अत्यधिक शोषण गर्छ । जसले गर्दा हिमाल तातिने प्रक्रिया छिटो हुन्छ । उनले मानव निर्मित डढेलो नियन्त्रण गर्न केन्द्रीय सरकारले हस्तक्षेप गरेर अघि बढ्नुपर्ने बताए । 

धौलागिरि हिमशृङ्खलामा रहेको एएच जेरो एन्ड जेरो नामको हिमनदी अबको १५ वर्षमा विलीन हुने अनुमान गरिएको छ । त्यस नदीका बारेमा सन् १९७४ ताका अमेरिकाका तत्कालीन उपराष्ट्रपति एल्गोरले आफ्नो पुस्तक ‘इनइभिटेबल ट्रथ’ मा व्याख्या गरेका छन् । सोसहित नेपालका धेरै हिमनदी उच्च तापक्रम र कार्बन उत्सर्जनका कारण उच्च जोखिममा छन् । हिमालको हिउँ गलन बढ्दै जाँदा बढेका हिमताल विस्फोटको खतरा पनि उत्तिकै छ । च्छो रोल्पा सन् १९७० मा सानो खाल्डोको पानीको स्वरूपमा थियो । ५० वर्षयता ठुलो घनत्वको ताल बनिसकेको छ । इम्जा हिमतालको अवस्था पनि उस्तै हो । नेपालका ९९ प्रतिशत हिमालको हिउँ पग्लिने क्रम जारी रहेको उनले बताए। 

हिमाल अध्येता डा. सुदीप ठकुरीले पनि बढ्दो तातोले गत वर्ष जसरी नै यो वर्ष पनि अत्यधिक तातो वर्ष सङ्केत गरेको बताए । उनले भने, “तातो उच्च हुँदा गर्मीले हिमालको हिउँ पग्लन थालेको छ ।” विश्वव्यापी जलवायु परिवर्तन र बढेको तातोको प्रत्यक्ष असर हिमनदी र हिमतालमै पर्ने हो । उनले जेठमा हुनुपर्ने तातो वैशाख सुरुमै हुनु र सँगै डढेलोको कार्बन बढ्नु हिमालका लागि राम्रो नभएको बताए । बढेको तातोले नेपालको पूर्वदेखि पश्चिमसम्मका तल्लो बरुण, चाम्लिङ, इमजा हुँदै च्छो रोल्पा, ठुलागीको सतह बढाउँदै लगेको छ । यसको परिणाम हिमताल फुटेर मानव अस्तित्व नष्ट गर्ने रहन्छ । गोरखाको वीरेन्द्र तालमा केही दिनअघि हिउँ पहिरो गए जस्तै हुने सम्भावना छ ।  

सर्वोच्च शिखर सगरमाथा आसपासको मौसम पहिलेभन्दा न्यानो छ । विगतको भन्दा अलिक बढी न्यानो हुँदै गएको खुम्बु पासाङ ल्ह्यामु गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताए। जल तथा मौसम विज्ञान विभागका अनुसार सगरमाथा आधार क्षेत्रमा बिहीबार माइनस २५ डिग्री सेल्सियस आसपासको अधिकतम तापक्रम देखियो । शुक्रबार बदली देखिएसँगै आधारक्षेत्र आसपास माइनस १५ डिग्री सेल्सियस आसपासको अधिकतम तापक्रम कायम रह्यो । मौसमविद् सरोज पुडासैनीका अनुसार आउँदो सोमबारदेखि भने बदलीसहित पहाडी भूभागमा हल्का वर्षा गराउने प्रणाली आउने सम्भावना रहेको छ । यो खबर आजको गोरखापत्र  दैनिकमा प्रकाशित भएको छ ।