काठमाडौंः सामुदायिक वन उपभोक्ता महासंघले वन डढेलो नियन्त्रणका लागि समुदायले गर्दै आएका प्रयासहरुले सफलता प्राप्त गर्ने भएकोले यसका लागि समुदाय, सरकार र सरोकारवालहरुका बीचमा सहयोग, समन्वय र सहकार्यका लागि आव्हान गरेको छ ।

देशभर वन डढेलो फैलिएर धनजनको क्षति हुन थालेपछि महासंघका अध्यक्ष ठाकुर भण्डारीले एक एक विज्ञप्ति जारी गरेर सो आह्वान गरेका हुन । डढेलोबाट हुने कार्वन उत्सर्जनले विश्वव्यापी तापक्रम समेत बढन जाने र वायु प्रदुषण समेत वृद्धि भई गम्भीर स्वास्थ्य समस्या सृजना हुने भएकोले वन डढेलोलाई सबैको साझा चुनौतीको रुपमा लिएर समुदाय, सरकार र सरोकारवालाहरुका बीचमा सहकार्य गर्न भनिएको छ ।

“वन डढेलो नियन्त्रणका लागि वन उपभोक्ता समूहले मागेको सहयोग समयमा नै उपलब्ध गराउने र वन डढेलो नियन्त्रणका लागि वन उपभोक्ता समूहलाई औजार, प्राविधिक सहयोग र अन्य आवश्यक सहयोग उपलब्ध गराउन आह्वान गर्दछौ,” विज्ञप्तिमा भनिएको छ ।

वनमा फैलिएको डढेलोले हालै डोल्पाको ठुलीभेरी नगरपालिकाको मस्ता सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा तीन जना नेपाली सेनाको मृत्यु भएको छ । रुकुम, कालिकोट, भोजपुर, धनकुटा, ललितपुर लगायतका जिल्लामा वन डढेलो निभाउने क्रममा सामुदायिक वनका उपभोक्ताहरुको मृत्यु भएको छ ।

महासंघले घाईतेहरुको तत्काल निःशुल्क उपचार र आगलागीबाट मृत्यु हुने व्यक्तिका परिवारको लागि उचित क्षतिपुर्ति तथा राहत उपलब्ध गराउन सरकारी निकाय र सरोकारवालाहरुसंग अपिल गरेको छ । वन डढेलो नियन्त्रणका लागि देशभरका सामुदायिक वन उपभोक्ता समूहले गर्दै आएको अथक प्रयासप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै वन डढेलो नियन्त्रण गर्ने जस्तो जोखिमपूर्ण र पूनित कार्यमा वन उपभोक्ता समूहले गरेको योगदानको कुनै न कुनै रुपमा उच्च मूल्याकन हुने कुराप्रति हामी विश्वास व्यक्त गरेको छ ।

897d1354-5234-4c4d-ba62-b23d4e6f18ab

पूर्वमनसुन प्रणाली सकृय नभएको र औषत तापक्रम निरन्तर बढ्दै गएका कारण वन डढेलोको प्रकोपमा थप वृद्धि हुन सक्ने भएकोले वन डढेलो नियन्त्रणका लागि दैनिक रुपमा वनमा जाने गोठाला, घाँस दाउरा गर्न जानेकृषक समूह तथा जडीबुटि र काठ दाउरा संकलन गर्न जाने व्यक्तिहरुलाई वनमा डढेलो लाग्न नदिनका लागि वन क्षेत्रमा नै गई नियमित रुपमा सचेतना अभिवृद्धि गरी निरोधात्मक उपायहरु अवलम्बन गर्न उपभोक्ताहरुलाई आह्वान गरिएको छ ।

त्यसैगरी वन क्षेत्रमा जाँदा आगलागी गराउन सक्ने वस्तु नलैजान सचेत गराउने र वनमा आगलागी गराएमा कडा कानूनी कारवाही हुने भनी सचेत गराई निषेधात्मक उपायहरु अवलम्बन गर्न भनिएको छ ।

सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूहलाई आ–आफ्नो वन व्यवस्थापन योजनामा गरिएको व्यवस्था अनुसार अबिलम्ब अग्नी रेखा निर्माण तथा पूनःनिर्माण गर्ने, वन र बस्ती वीचमा भएका पत्कर तथा झाडी हटाउने जस्ता कार्य गरी वनमा प्राकृतिक रुपमा आगलागी भइहालेमा थप फैलन नदिने काम गर्न आग्रह गरिएको छ ।

महासंघले कुनै कारणले वनमा आगलागी भएको देखिएमा नियन्त्रणका लागि तत्काल सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय र अन्य सहयोगी सरोकारवाला निकायहरुलाई खवर गरी सहयोग र सहकार्यका लागि आग्रह गरिएको छ ।