बागलुङः बागलुङमा खडेरीले जतासुकै मूल सुकेका छन्। खानेपानीको आपूर्तिमा समस्या देखिएपछि बागलुङ नगर खानेपानी उपभोक्ता संस्था पनि प्रभावित बनेको छ।

उन्नाइस किलोमिटर टाढाको रेशखोलाबाट ल्याइएको पानीको मात्रा घटेको छ। त्यस्तै भुँदीखोलाबाट ल्याएको पानीको मात्रा पनि घटेको छ। मात्रा घटेपछि बजारबासीलाई पानीको अभाव भएको छ।

विकल्पको रुपमा निर्माण भइरहेको कैलामपोखरी लिफ्ट आयोजनाले अझै पूर्णता पाउन सकेको छैन। पानी सुक्दै गएकाले वितरणमा समस्या आएपछि संस्थाले आन्तरिक गृहकार्य गरेर वैकल्पिक उपाय खोजेको छ।

उक्त विकल्पअनुसार बजारमा पानी वितरणका लागि संस्थाले कैलामपोखरीबाट चार इन्चको पाइपमा रात्माटाको ट्याङ्कीमा पानी खसाल्ने काम भइरहेको छ। यो पानी आजदेखि उपभोक्तालाई वितरण गरिने संस्थाका अध्यक्ष केवी रानमगरले बताए।

पानी अभाव हुन थालेपछि समस्या भएको छ। तित्याङको रिठेखोलाबाट आएको पानीसमेत सुकेपछि वितरणमा सास्ती भएको भन्दै समितिले विकल्पको रुपमा पाइप विच्छ्याएर रात्माटा पुर्याएको छ। आजदेखि पानी वितरणमा केही सहज हुने अध्यक्ष रानमगरको भनाइ छ। पानी अभाव भएपछि बजारबासी गलुवाखोला, सहश्रधारा लगायतका स्थानमा पुगेर खानेपानी ल्याउन थालेका छन्।

बागलुङ बजारमा पानी सहजरुपमा वितरण गर्न सकिएको छैन। ठेकेदार कम्पनीले योजना हस्तान्तरण गर्न सकेको छैन।

‘हाल अस्थायी रुपमा पानी खुवाउन प्रयास गरिएको हो’, उनले भने। काठेखोलाबाट पानी सङ्कलन गरी हाल निर्माण भएका ट्याङ्कीबाट बजारमा वितरण गर्ने योजना छ।  

विसं २०३२ मा पहिलो पटक बागलुङमा तित्याङको रिठेखोलाबाट खानेपानी ल्याइएको थियो। सो आयोजनाअन्तर्गत १३ सार्वजनिक धारा बनेका थिए। तत्कालीन राजा वीरेन्द्र शाहले उक्त आयोजनाको उद्घाटन गरेका थिए।

बागलुङ बजारमा अहिले चार हजारबढी धारा निर्माण गरिएका छन्। तर अधिकांस धारामा खडेरीको समयमा पानी आउँदैन। उपभोक्ता समितिको ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा २०७३ सालमा थालिएको आयोजना अझै हस्तान्तरण भएको छैन।

पाइपमा समस्या आएपछि लिफ्टमार्फत पानी आपूर्ति हुन सकेको थिएन। ‘पाइपमा समस्या आएपछि खानेपानी वितरण गर्न ढिला भएको हो’, संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले भने। गत वर्षातमा फाइप फुटेर थप समस्या भएको थियो। रासस