दमकः आर्थिक क्षेत्रमा बदलिँदो परिवेश, व्यवसायिक हक हितका साझा मुद्धाहरुमा निजी क्षेत्रबीचको सहकार्य लगायतका बिषयमा दमकका उद्योगी व्यवसायी नेताहरुले देशका प्रमुख शहरहरुमा अन्तरक्रियात्मक छलफल शुरु गरेका छन् ।
दमकका उद्योगी व्यवसायी नेताहरुको साझा संस्था दमक उद्योग वाणिज्य संघको टोलीले आज (बिहिबार)देखि छिमेकी जिल्ला मोरङबाट त्यस किसिमको अन्तरक्रियात्मक छलफललाई देशव्यापी रुपमा अघि बढाएको हो ।
६ दिन लामो भ्रमण तालिकासहित निस्किएको टोलीको नेतृत्व संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठले लिएका छन । केन्द्रिय सदस्य श्रेष्ठको नेतृत्वमा संघका अध्यक्ष गोपाल गुरागाइँसहितको टोलीले बिहिबार मोरङ, सुनसरी र उदयपुरका तीन जिल्लामा त्यस्तो छलफल गरेको छ ।
मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल नेतृत्वको टिमले दमकको टिमलाई स्वागत गरेको थियो ।
सो अवसरमा सुन्दरहरैंचा उवासंघका प्रतिनिधिहरुसँग भएको पहिलो छलफलमा व्यवसायिक सहकार्य र एकतामा जोड दिइएको थियो । छलफलमा केन्द्रिय सदस्य श्रेष्ठले देशभरका व्यवसायीहरुको समस्या साझा किसिमका हुन सक्ने आफ्नो अनुमान रहेको उल्लेख गरे ।
सो लगत्तै इटहरी उद्योग वाणिज्य संघको कार्यालय इटहरीको अवलोकन भ्रमण गरिएको संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले जानकारी दिए । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीसहितको प्रतिनिधि टोलीसँग छलफल भएको छ । त्यस्तै आजनै उदयपुरको कटारी उद्योग वाणिज्य संघमा पनि सो टोलीलाई स्वागत गरिएको छ ।
कटारी उद्योग वाणिज्य संघका अध्यक्ष जमानसिंह बस्नेत नेतृत्वको टिमले दमकको टोलीलाई स्वागत गर्दै समसामयिक बिषयमा अन्तरक्रियात्मक छलफल गरी साझा प्रतिबद्धता प्रकट गरेको संघले जनाएको छ ।