काठमाडौँः काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आव्हान गरिएको थियो । यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो । 

यसरी कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि छन् । यस्तै १०५ जना शाखा अधिकृत पदका लागि हुन्छन् ।   आज कार्यक्रम थालनी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै वौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए । ‘युवाहरुको वौद्धिक क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने नेतृत्वको नीति कार्यान्वयन तहमा आएको छ ।’ उनले भने, ‘महानगरबासीहरुमा राष्ट्रसेवक कर्मचारी बन्ने अभिलाषा वृद्धि गराउन, लोक सेवाबाट लिइने परीक्षामा सफल हुने वातावरण बनाउन लोक सेवा तयारीको कक्षा गरिएको हो ।’

7e883bc7-b5f4-45a7-998d-490b20ba5834

नेपाल सरकारका पूर्व सचिव एवम कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले, वौद्धिक क्षमता र  सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखे । ‘यसमा व्यक्तिको होइन, क्षमताको मूल्याङ्कन गरिन्छ । यसकारण सबैका लागि समान अवसर छ ।’ मैनालीको भनाइ थियो ।   

‘तालिम लिने व्यक्तिले भौतिक रुपमा कक्षामा उपस्थित हुनै पर्छ । यसमा अनलाइन कक्षा लिने सुविधा छैन ।’ सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाले भने, ‘कक्षाबिचमा छोड्ने छुट कसैलाई पनि छैन । यदि कसैले कक्षा छोड्यो भने त्यसवापतको शुल्क भुक्तानी गर्नुपर्नेछ ।’

तालिम संयोजक रितु कर्णकाअनुसार तालिम आउँदो भाद्र महिनासम्म चल्नेछ । तालिममा महानगरपालिकाको स्थायी बासिन्दा, महिलाको हकमा ४० बर्ष र पुरुषका हकमा ३५ वर्ष उमेर पूरा नभएकालाई कक्षामा सहभागी गराइएको छ ।