काठमाडौंः बर्सेनि बढ्दै गइरहेको भू-खतरा( बाढी, पहिरो र भूकम्पका बारेमा जनसमुदाय स्तरमै सचेतना अभिवृद्धि गर्न पाठ्यक्रमको विकास गरि विद्यालय तहबाटै लागू गर्न भू-प्रविधि समाज नेपाल (नेपाल जियोटेक्निकल सोसाइटी, एनजीएस)ले सरकारसँग माग गरेको छ । 

शनिबार ललितपुरको स्क्वायर होटेलमा एनजीएसको ३०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी उपप्रधान तथा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सामु यो माग गरिएको हो । 

एनजीएसको तर्फबाट संस्थाको परिचय, इतिहास एवं भावी योजना बताउँदै  समाजका अध्यक्ष इन्जिनियर डाक्टर मन्दिप सुवेदीले सो माग राखेका हुन् । 

5c6eb64d-1c57-4205-b42e-4361ccce3cb2

उनले विगतमा १० वर्षमा बाढी र पहिरोका ३ हजार घटना भई १ हजार ३ सय बढी मानिसको मृत्यु भइसकेको र पहिरोबाट मात्रै बर्सेनि ३ सय बढीले ज्यान गुमाइरहनु परेको बताए  । बेपत्ता र घाइते हुनेहरूको अवस्था त यकिन गर्न नै नसकिरहेको उनले बताए । यो भयावह अवस्थामा हामीले समुदाय स्तरमा समेत बाढी र पहिरो लगायतको जोखिमका बारेमा बुझाउन जरुरी रहेकाले भू-विपद् सम्बन्धि ज्ञान विद्यालय तह हुँदै आम जनसमुदायसम्म पुर्‍याउन विद्यालय तहमै जिओ टेक्निकल र भू-विपद् जस्ता विषय समेटेर पाठ्यक्रमको विकास गरि लागू गर्न माग गरे । 

eb5dc847-cb86-4e5d-80d2-8f3aec15420c

पाठ्यक्रम तयार गर्नका लागि विज्ञहरू सहितको टोली खटाई शिक्षा मन्त्रालय सहित नेपाल सरकारलाई आवश्यक सहयोग गर्न सोसाइटी तयार रहेको उनले बताए । स्थापनाको ३० औँ वर्षमा सोसाइटीले समुदायस्तरमै बाढी र पहिरो लगायतका विपद् जोखिमका बारे सचेतना दिने उद्देश्यले शनिवारको बिहानको सत्रमा धादिङको धुनिवेशी नगरपालिकाको भुवनेश्वर माविमा प्रदर्शनी र अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । 

सो अन्तरक्रिया कार्यक्रममा पनि बाढी र पहिरो लगायतका सबै खालका विपद्का विषय समेटेर पाठ्यक्रम निर्माण गरि विद्यालयको प्राथमिक तहबाटै लागू गर्न पर्नेमा सहभागीहरूले जोड दिएको सुवेदीले बताए । अन्तरक्रियामा सहभागी बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् सो क्षेत्रका सांसद राजेन्द्र पाण्डेले पनि पाठ्यक्रम बनाएर विद्यालयको प्राथमिक तहबाटै लागू गर्ने कुरामा सोसाइटीलाई आवश्यक सहयोग गर्ने वचन दिएका थिए । उनले पाठ्यक्रम बनाउने विषयमा नीति नियम बनाउने थलो संसद्, विषयगत समिति र सरकारका सम्बन्धित मन्त्रालयमा कुरा राख्ने प्रतिबद्धता जनाएका थिए ।

विपद् विज्ञ एवम् पूर्व शिक्षा मन्त्री डाक्टर गङ्गालाल तुलाधरले समेत अब ढिला नगरी नेपाल सरकारले विपद्को जोखिमबाट आमनागरिकलाई बचाउन र उनीहरूमा सचेतना फैलाउन विद्यालय तहबाटै पाठ्यक्रम लागू गरि पढाउन थाल्नुको विकल्प नरहेको बताए । आउँदो शैक्षिक सत्रबाटै पाठ्यक्रम लागू गर्नु पर्नेमा जोड दिए । उनले विकास निर्माणको कार्यमा जिओटेक्निकल  अध्ययन नगरिए पहिरोको अवस्था थप भयावह हुने निश्चित रहेको समेत बताए । 

8339c1fd-95f1-4fac-8edf-f31c2bda29f8

सोसाइटीका अध्यक्ष सुवेदीले पाठ्यक्रम बनाएर विद्यालयमा लागू गर्ने मागलाई आफ्नो तहबाट नेपाल सरकार र सम्बन्धित मन्त्रालयहरूमा कुरा राखी आवश्यक सहयोग गर्न आफू तयार रहेको मन्त्री महासेठले प्रतिबद्धता जनाएका थिए । उनले भने, ’म पनि इन्जिनियर ब्याकग्राउण्डको नेता हुँ । म र मेरो मन्त्रालयले कुन कुन विषय कहाँ कहाँ सहयोग गर्नु पर्ने हो ? तपाईँहरू लिखित रूपमा आउनुहोस् । म सहयोग गर्न तयार छु ।” 

मन्त्री महासेठले मन्त्रालयका सचिवसँग सोसाइटीका मागका विषयमा तत्कालै छलफल थाल्ने सेमत बताए । उनले पाठ्यक्रम लागू गर्ने र जिओ इन्जिनियरिङ विकास निर्माणका आयोजनामा कत्तिको महत्त्वपूर्ण छ भन्ने विषयमा आफूले मात्रै बुझेर नहुने भएकाले नेपालका सबै राजनेताहरूलाई बुझाउन जरुरी रहेकोमा जोड दिए । उनले भने, “राजनेता र सरकारलाई यो विषय बुझाउन म आवश्यक पहल र समन्वय गर्न तयार छु । त्यसका लागि सोसाइटीमा आबद्ध हुनु भएका इन्जिनियर विज्ञहरू तयार रहनुहोस् ।”