धरानः लोकप्रिय गायक आनन्द कार्की यही पुस २७ गते शुक्रबार साँंझ धरानमा प्रस्तुत हुने भएका छन् ।

समर्पण अभियान नेपालको आयोजनामा स्थानीय इजी राइडर होटलमा हुने एकल साँंझमा उनी प्रस्तुत हुने भएका हुन् । ‘सामाजिक दायित्व वहन गर्न मिलाऊँ हातमा हात, समर्पण अभियान नेपालको सेवामा आनन्द कार्कीको साथ’ भन्ने मूल नाराका साथ कार्यक्रम हुने बताइएको छ ।

कार्यक्रमबाट सङ्कलित रकम सडक बालबालिका र वृद्धवृद्धालाई सहयोग गरिने समर्पण अभियानका सल्लाहकार तथा युएन कलेजका शिक्षक सर्न सम्बाहाम्फेले जनाए । संस्थाले यसअघि पनि धरानको भानुचोकमा सेलरोटी र चिया बिक्री गरी सङ्कलित रकमले इटहरी–१६ स्थित रामजानकी वृद्धाश्रमका वृद्धवृद्धालाई न्यानो लुगा र खाद्यान्न वितरण गरेको थियो ।

संस्थाले सडक बालबालिकालाई खाना खुवाउने, लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियानमा सहभागी हुनेलगायत विभिन्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ । धरानका विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरू सदस्य रहेको यो संस्थाले युवा परिचालनलाई प्राथमिकतामा राखेको अध्यक्ष युनेश भण्डारीले बताए ।

युवा विद्यार्थीलाई सामाजिक उत्तरदायित्व र जिम्मेवारी वहन गराउने उद्देश्यले संस्था गठन गरिएको उनले जनाए । सङ्कलित रकम सामाजिक काममा खर्च गरिने हुनाले सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।