झापाः झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो पटक काँटी उद्योग स्थापना भएको छ ।

कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना गरी काँटी उत्पादन शुरु गरेका हुन् । वैदेशिक रोजगारका क्रममा दक्षिण कोरियामा ५ वर्ष बिताएर आएका चापागाईंले स्वदेशमै उद्यम गर्न उद्योग स्थापना गरेको बताए ।

सो उद्योगबाट पहिलो चरणमा काँटी उत्पादन शुरु गरिएको उनले बताए । चालु आर्थिक वर्षभित्र नट, बोल्ट, स्टील दराजलगायत छ प्रकारका सामग्री उत्पादन गर्ने लक्ष्य रहेको उनले जनाए । उद्योगमा हाल १४ लाख रुपैयाँको लागतमा २ वटा काँटी बनाउने उपकरण र ४ लाखमा एउटा काँटी पोलिस गर्ने उपकरण राखिएको उनले बताए ।

उनका अनुसार सो उद्योगबाट दैनिक १ हजार ५ सयदेखि २ हजार केजीसम्म काँटी उत्पादन हुँदै आएको चापागाईं बताउँछन् । उद्योगबाट उत्पादित काँटी ९६ रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको छ । उत्पादित सामग्री मेची अञ्चलका बजारमा बिक्री गरिने जनाइएको छ । सो उद्योगमा हाल ४ जनाले रोजगारी पाएको उनले बताए ।

उद्योगलाई विस्तार गर्ने योजनामा रहेको र केही युवासँगको साझेदारीमा हर्पिक, फिनेललगायत अन्य रासायनिक पदार्थ उत्पादन गर्ने उद्देश्यले मेचीनगर–७ मा ५२ कट्ठा जग्गासमेत खरिद गरेको उनले बताए ।