इटहरीः जटिल रोग पालेर बसिरहेका एकै परिवारका दिदीभाइलाई आज बिहानै बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइन् । विपन्न परिवारका उनीहरूको उपचार नगरपालिकाले गर्ने वाचा गरेअनुसार आफूले प्रयोग गर्ने नगरपालिकाको गाडीमा दिदीभाइलाई लिएर उनी अस्पताल गएकी थिइन् ।

बेलबारी नगरपालिका वडा नम्बर ९ का नलबहादुर धिमालकी २२ वर्षीया छोरी आस्मा र ८ वर्षीय छोरा अमित धिमाल लामो समयदेखि जीउभर दुबी निस्कने समस्याबाट पीडित थिए । उनीहरूको शरीरमा दुबी निस्कनुका साथै अनुहार पनि पाक्न थालेको थियो । दिदी आस्माको आँखालाई पनि असर गरिसकेको थियो ।

हालै बेलबारीमा भएको एक स्वास्थ्य शिविरमा जँचाउन आएका उनीहरूको अवस्था बेलबारीकी उपमेयर पराजुलीले देखिन् । त्यसपछि शिविरमा आएका डाक्टरलाई उनले सो रोग कस्तो रोग हो भन्ने जिज्ञासा राखिन् । डाक्टरले गम्भीर प्रकृतिको रोग भएको बताएपछि उनले पहिले गरेको उपचारको बारेमा जिज्ञासा राखिन् । आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकेको जानकारी पाएपछि उनकै पहलमा नगरपालिकाले दिदीभाइको उपचार गर्ने बताएको थियो ।

‘हामीले हेर्दा आस्माको आँखालाई धेरै असर गरिसकेजस्तो देखिन्थ्यो’, पराजुलीले भनिन्, ‘त्यसैले आजै उपचारको लागि उनीहरूलाई लगिएको हो ।’ अस्पताल जाने पैसा छैन भनेपछि नगरपालिकाकै गाडीमा उनीहरूलाई अस्पताल लगेको उनले बताइन् । आफूसहित लक्ष्मी माविका शिक्षक देवीप्रसाद पोखरेल र बिरामीका आफन्त अस्पताल गएको पनि उनले बताइन् ।

डाक्टरले भने रोग जटिल अवस्थामा छ
‘दिदीको रोगचाहिँ जटिल अवस्थामा पुगिसकेको रहेछ’, डाक्टरको भनाइ उद्धृत गर्दै पराजुलीले भनिन्, ‘रोगले आँखामा असर गरिसकेको डाक्टरले बताएका छन् । एक सातापछि फेरि जँचाउन जानुपर्नेछ ।’ उनका अनुसार डाक्टरले छालाको सो रोग वंशाणुगत गुणका कारण आएको बताएका छन् । एक हप्तापछि जाँदा रोगको अवस्थाको बारेमा थाहा हुने उनले बताइन् ।

bebarii upmayer dhaka with birami (2)