इलामः चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी आजदेखि इलाममा अनसन बसेका छन् । उनको यो १६ औं अनसन हो । साबिकको शहरी विकास तथा भवन निर्माण विभागको खाली रहेको भवनमा उनी अनसन बसेका हुन् ।

अपराह्न्न ५ बजेदेखि उनी अनसनमा बसेका हुन् । अनसन बस्न हिजो साँझ इलाम आएका उनले आज ५ बजेदेखि अनसन बस्ने बताएका थिए ।

गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । उक्त विधेयक लामो समयसम्म पनि संशोधन नभएपछि १६ औं पटक उनी अनसन बसेका हुन् ।

सरकारसँग भएको पछिल्लो सम्झौतामा पूर्वमा पाँचथर र इलाममध्ये कुनै एक र सुदूरपश्चिममा डडेलधुरा र डोटीमध्ये १ जिल्लामा सरकारी मेडिकल कलेज स्थापना गर्ने विषय उल्लेख थियो ।

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका थिए ।