झापाः आगामी शनिबार हुने मेची उद्योग वाणिज्य सङ्घको निर्वाचनमा १६ पदका लागि १ जना स्वतन्त्रसहित ३३ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । निर्वाचनमा नेपाली काङ्ग्रेस र राप्रापाको लोकतान्त्रिक प्यानल तथा नेकपा, सङ्घीय समाजवादी फोरम र लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बुवान नेपालको गठबन्धन संयुक्त व्यवसायी प्यानलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

निर्वाचनका लागि मङ्गलबार निकै तामझामका साथ दुवै प्यानलका उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता गराउने क्रममा विभिन्न राजनीतिक दलका प्रदेश, जिल्ला, क्षेत्र र नगरस्तरीय नेताहरू समेत विभिन्न उम्मेद्वारको समर्थनमा निर्वाचन समितिको कार्यालयमा पुगेका थिए । यसले विगतमा भएको सङ्घीय, प्रदेश र स्थानीय निकायको निर्वाचनको झल्को दिन्थ्यो ।

नेकपासहितको संयुक्त व्यवसायी प्यानलबाट उद्योग उपाध्यक्ष र महिला उपाध्यक्ष सङ्घीय समाजवादी फोरमको भागमा परेको छ । एउटा खुला सदस्य लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बुवान नेपाललाई दिइएको छ । बाँकी सबै पद नेकपाको भागमा छ ।

यो समूहबाट ऋषिराज तिम्सिनालाई अध्यक्ष पदका लागि चुनावी मैदानमा अघि सारिएको छ । वरिष्ठ उपाध्यक्षमा तेजराज प्रसाई, उद्योग उपाध्यक्षमा लक्षेन्द्रप्रसाद यादव, वाणिज्य उपाध्यक्षमा गोपाल गुप्ता, महिला उपाध्यक्षमा मीरा कार्की र महासचिवमा भुपाल ओलीले मनोनयन दर्ता गराएका छन् ।

महिला सदस्यहरूमा बबिता पौडेल र अञ्जु थापाको उम्मेद्वारी परेको छ भने खुला सदस्यमा झलककुमार पौडेल, लीलानाथ आङदम्बे, दीपेन्द्रराज पाण्डे, ललितकुमार अग्रवाल, वीरबहादुर गजवीर, केपी शिवाकोटी, श्रीप्रसाद सिटौला, र मानबहादुर गिरीले उम्मेद्वारी दर्ता गराए ।

लोकतान्त्रिक प्यानलको गठबन्धनले वाणिज्य उपाध्यक्ष, १ जना महिला सदस्य तथा २ जना खुला सदस्य गरी ४ पद राप्रपालाई दिएको छ भने बाँकी सबै पदमा नेपाली काङ्ग्रेसले आफ्ना उम्मेद्वार खडा गरेको छ ।

लोकतान्त्रिक प्यानलको गठबन्धनले पुनीत वंशललाई अध्यक्षका रूपमा अघि सारेको छ । वरिष्ठ उपाध्यक्ष पदमा मोहन निरौला, उद्योग उपाध्यक्षमा किशोर क्षेत्री, वाणिज्य उपाध्यक्षमा कल्याण खड्का तथा महिला उपाध्यक्षमा बीना तामाङ र महासचिवमा धु्रव कनालको उम्मेद्वारी दर्ता भएको छ ।

यसैगरी, महिला सदस्यमा शारदाकुमारी पराजुली र झुनादेवी बानियाँ, खुला सदस्यतर्फ रविचन्द्र नेपाल, भूमि पौडेल, ललितकुमार बोहोरा, सन्दीप ओली, उमानाथ सुवेदी, विपेन्द्र लामा, हुमनाथ बराल, राजु पोद्दारको उम्मेद्वारी दर्ता भएको छ । खुला सदस्यमा भने श्रवणकुमार बानियाँले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।

मनोनयन दर्ता पश्चात अध्यक्ष पदका उम्मेद्वार तिम्सिनाले नगरका हरेक उद्योगी व्यवसायीहरूको हक हित अधिकारलगायतका विषयमा आफ्नो उम्मेद्वारी परेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । ‘मेचीनगर अब पहिलाको जस्तो छैन, बृहत बनेको छ । यो नगरलाई व्यावसायिक नगर बनाउन पनि मेरो उम्मेद्वारी परेको हो’, तिम्सिनाले भने, ‘हरेक व्यवसायीले आयात निर्यातका बखत भोग्नुपरेको समस्या, नगरभित्रका पर्यटकीय स्थलको विकास, चारआलीमा रहेको कृषिमण्डी साथै पार्किङको समस्या नगरमा देखिएको शौचालयको समस्या हल गर्ने उद्देश्यका साथ मैले उम्मेद्वारी दर्ता गराएको हुँ ।’

उता लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका वंशलले नगरको वृहत्तर विकासका लागि र यहाँका हरेक उद्योग व्यवसायीहरूको हक हित अधिकारका लागि अहोरात्र सक्रिय हुने बताए । उनले उद्योगी व्यवसायीलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्ने जिम्मेवारीसमेत पूरा गर्ने प्रतिक्रिया दिए । सङ्घमा १ हजार ३ सय ७५ मतदाता रहेका छन् ।