भोजपुरः जिल्ला अदालत भोजपुरले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ ।
अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त राईले सोही वडाकी स्थानीय ईश्वरमाया राईमाथि दाउरा र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजालसले मङ्गलबार सो फैसला गरेको हो । राईले २०६९ असोज ६ गते आफन्त ईश्वरमायालाई बाटोमा कुटपिट गरी हत्या गरेको आरोप थियो । पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको थियो ।
त्यस्तै, अदालतले बालिका जबर्जस्ती करणी गर्न खोज्ने अरुण गाउँपालिका–४ चरम्बीका लालबहादुर श्रेष्ठलाई सात वर्ष कैद र ७५ हजार क्षतिपूर्तिको फैसला गरेको छ । श्रेष्ठले गत असोज १ गते सोही ठाउँकी ११ वर्षीया बालिकालाई गाई गोठमा लगेर करणी गर्न खोजेको भन्दै बालिकाका परिवारले उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।