इटहरीः सरकारी ढुकुटीबाट मासिक रुपमा तलब भत्ता खाने स्थानीय सरकार इटहरी उपमहानगरपालिकामा कार्यरत एक कर्मचारी आचार संहिता विपरित राजनितिक दलको चुनावी प्रचारमा लागेकी छन् ।
इटहरी उपमहानगरपालिकाको श्रम तथा रोजगार शाखामा कार्यरत सब इन्जिनियर समिक्षा कार्की खुलेरै नेकपा एमालेको यहि असार १५ गते हुने इटहरी नगर अधिवेशनको चुनावी प्रचारमा लागेको पाइएको छ ।
जनताले तिरेको करबाट तलब भत्ता खाने कुनै पनि कर्मचारीहरुलाई कुनै दल बिषेशमा आवद्ध हुन र सो दलको प्रचार प्रसार गर्न कर्मचारी आचारसंहिता विपरित हुन्छ । तर कार्कीले कुनै संकोच नै नमानी सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा एमाले इटहरी नगरकमिटीको सदस्य पदमा उम्मेदवारी दिइएकी दमन्ता कार्कीलाई कमरेड सम्बोधन गर्दै अत्याधिक मतले विजय गराउन अनुरोध सहित सबैमा अपिल गरेकी छन् ।
२ दिन अगाडि उनले समाजिक सञ्जाल फेसबुक मार्फत यस्तो अपिल गरेकी हुन् । उनले यसरी फेसबुक मार्फत नेकपा एमालेको नगरअधिवेशनमा सदस्य पदकी उम्मेदवार बनेकी नाताले आफ्नी आमा दमन्ता कार्कीलाई भोट मागेको बिषयमा इटहरी उपमहानगरको कर्मचारी प्रशासन शाखा बेखबर छ । थाहा पाएर पनि नथाहा पाए जस्तो गरि कर्मचारी प्रशासन शाखा बसेको बुझिएको छ ।
यसअघि अन्य कर्मचारीहरुले दल बिषेश बाहिर रहेर फेसबुकमा सामान्य स्टाटस लेख्दा कर्मचारी प्रशासन शाखाको सिफारिसमा मेयरको कार्यकक्षसम्म पुग्नु परेको थियो । कतिपय कर्मचारीहरुलाई फेसबुकमा स्टाटस लेखैकै आधारमा मानसिक तनाव दिनुका साथै जथाभावी सरुवा समेत गरिएको थियो । यतिसम्मकी जागिर नै खाईदिने धम्की समेत दिइएको थियो । तर, विना प्रतिष्पर्धा सोझै नियुक्ती भएकी कार्कीले फेसबुकमा एमालेको अधिवेशनको मत माग्दा इटहरी उपमहानगर नै चुप बस्नुलाई गम्भिर रुपमा हेरिएको छ ।
कार्कीलाई सोझै नियुक्ती गरिएको स्थानमा द्धारिकलाल चौधरी मेयर भएको समयमा करारमा विज्ञापन खुलाएर कर्मचारी राखिएको थियो । तर उनलाई राख्दा कुनै सूचना नै प्रकाशन नगरी तोक आदेशका भरमा कानून विपरित नियुक्ती गरिएको हो । उनका श्रीमान पनि उनी नियुक्ती हुनु अघि इटहरी उपमहानगरपालिकामै इन्जिनियरका रुपमा कार्यरत थिए । करार नियुक्ती भएका उनी सेवाग्राहीसँग आर्थिक लेनदेनमा मुछिएको आरोपमा जागिरबाट निकालिएका थिए ।
इटहरी उपमहानगरपालिकाका कर्मचारी प्रशासन शाखाका प्रमुख संजिब खड्काले कर्मचारी भएर कुनै दल बिषेशको प्रचार गर्न छुट नभएको र कानूनले पनि नदिने बताए । उनले भने ‘मलाई यो कुरा थाहा भएन । तपाईले भन्नु भयो म तत्कालै उनीसँग कुरा गर्छु । यस्तो गर्ने कसैलाई छुट छैन ।’ कार्कीलाई दैनिक ज्यालादारीमा नियुक्ती गरिएको उनले बताए ।