शुसिला उप्रेती

इटहरीः सुनसरीको र  मोरङको सीमा भएर बग्ने बुढी खोलामा मंगलबार बिहान आएको बाढीले बगाइएका  एकै परिवारका ४ सदस्य मध्ये एक जनाको मृत्यु भएको छ । २ जना अझै बेपत्ता छन् । माछा मार्न र दाउरा बटुल्न खोला किनारमा निस्केका मोरङको  सुन्दरहरैँचा नगरपालिका ५ निवासी  प्रेमकला चौधरीको बाढी बगाएर मृत्यु भएको हो । 

माछा मारिरहेका  प्रेमकलासहित सुन्दरहरैँचा ५ की २२ वर्षीया स्वस्तिका चौधरी, सोही स्थानकी ३० वर्षीया फूलकुमारी चौधरी र ६० वर्षीया असरादेवी चौधरीलाई एक्कासी बढेर आएको बाढीले बगाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएका्े छ । 

प्रहरीले स्वस्तिकाको सकुशल उद्धार गरेको छ ।  प्रेमकलाको शब भने इटहरी ४ स्थित गैरीगाउँमा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । 

खोक्सीबाट उनीहरु बगाएको र वेपत्ता २ जनाको खोजी कार्य जारी रहेको कार्कीले जानकारी दिए । उनीहरुको खोजी कार्यका लागि मोरङ प्रहरी पनि लागि परेको छ । 

 प्रहरीका अनुसार बुढी खोलामा  पानीको बहाब क्रमश बढीरहेपनि त्यसलाई ख्याल नगरी चौधरीको परिवार  खोलामा माछा मार्न र दाउरा टिप्न स्थानीय महिलाहरूसँगै उनीहरू पनि गएको खुलेको छ ।

बुढीखोलाले सतर्कताको तह पार गर्‍यो

 बुढी खोलाको बाढीले सतर्कताको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । खोलामा बाढी अझै बढ्दो क्रममा रहेकाले  सतर्कता अपनाउन  महाशाखाले सबैमा अनुरोध गरेको छ ।

महाशाखाका अनुसार कोशी बेसिनको चतरा क्षेत्रमा गत २४ घण्टामा १७३।२ मिलिमिटर वर्षा भएको छ । यसैगरी झापाको अनारमनीविर्तास्थित कन्काइ नदीमा पनि गत २४ घण्टामा १३९।४ मिलिमिटर वर्षा मापन भएको छ ।

आज ईलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङजा, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची, गुल्मी र ती जिल्ला आसपास भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिमसमेत रहेकाले सतर्क रहन पनि मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

गत जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन असार १० गते सुदूरपश्चिमसम्म फैलिएको थियो । मनसुन देशभर फैलिए पनि कोशी प्रदेशको तुलनामा अन्य प्रदेशमा मनसुन कम सक्रिय छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।