धरानः धरानको गुराँसेडाँडाका बारेमा भने अधिकांश धरानवासी नै अनभिज्ञ छन् । प्राकृतिक र पर्यटकीय गन्तव्यको रुपमा रहेको धरान उपमहानगरपालिका २० विष्णुपादुकामा गुराँस फुल्ने जङ्गल छ भन्ने चर्चा अहिलेसम्म भएको थिएन । 

पहिलोपटक नेपाली कांग्रेस सुनसरी १ क्षेत्रीय समितिले हालै धरान उपमहानगरपालिका २० विष्णुपादुकाको वंशिलामा लालीगुराँस वृक्षरोपण कार्यक्रम आयोजना गर्दा त्यहाँ गुराँस फुल्ने गर्छ भन्ने कुराले धेरैलाई आश्चर्य बनाएको थियो । वंशिला र महाभारत डाँडा क्षेत्रमा छ सय २६ वटा गुराँसका बिरुवा रोपिएको थियो । 

वंशिला क्षेत्र डाँडा समुद्र सतहदेखि १४ सय मिटर माथिको उचाइमा रहेकाले यस ठाउँमा लालीगुराँस फुल्ने उपयुक्त हावापानी रहेको हुँदा वृक्षरोपण गरिएको नेपाली कांग्रेस सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए। उनले भने, “धरानलाई लालीगुराँसको सहर भनेर स्थापित गर्ने उद्देश्यले लालीगुराँसको बिरुवा रोपण गरिएको हो ।” गुराँस र उच्च पहाडी क्षेत्रप्रति पर्यटकीय आकर्षणलाई धरानमै केन्द्रित गराउन वंशिलामा गुराँस संरक्षण र विकासको अभियान सुरु गरिएको बताउँदै तामाङले यो क्षेत्रको पर्यटकीय महत्व प्रचारप्रसारमा आएपछि यहाँको सडक पूर्वाधार र भौतिक विकासको ढोका खुल्ने छ भने ।’ 

गुराँसका बिरुवा रोप्ने कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका नेता डा.शेखर कोइरालाले धरानको विकट क्षेत्रहरुमा विकासको लागि रचनात्मक कदमको जरुरी रहेको बताए । उनले लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै लालीगुराँस संरक्षण अभियानमा निरन्तर लाग्नुपर्नेमा जोड दिए । मौसम सफा भएको समयमा यस क्षेत्रबाट मकालु र कञ्चनजङ्घा हिमालको दृश्य मज्जाले अवलोकन गर्न सकिने स्थानीय विक्रम तामाङ बताउछन् ।

दृश्यालोकन गर्नेहरुका लागि महाभारत पर्वत शृङ्खला उत्तरका पहाडी जिल्लाहरु र दक्षिणतर्फ धरान बजारदेखि तलतिरका इटहरी, चारकोसे जङ्गल, सर्दु, खर्दु, भेडेटारलगायतका रमणीय ठाउँहरुको अवलोकन गर्न सकिन्छ । पहाडी क्षेत्रको चिसो वातावरणका साथै गुराँस फुलेको हेर्न पर्यटकहरु तेह्रथुमदेखि ताप्लेजुङसम्म ठूलै खर्च गरेर पुग्ने गरेका छन् । 

यस क्षेत्रमा रैथाने लालीगुराँसको जङ्गल रहेको धरान उपमहानगरपालिका २० वडा सदस्य देवेन्द्र राईले बताए। विष्णुपाउ सामुदायिक वनको वंशिलादेखि महाभारत डाँडा क्षेत्रको जङ्गलमा फागुन, चैत महिनामा गुराँस ढकमक्क फुल्ने गर्दछ । यहाँ पाइने लालीगुराँस तेह्रथुमको तिनजुरे मिल्केतिरको भन्दा फरक प्रजातिको रैथाने गुराँस भएको अनुमान गरिए पनि कुन प्रजातिको भन्ने विज्ञहरूबाट यकिन नभएको उनको भनाइ छ । गुराँसको जङ्गलसँगै अन्य प्रजातिका रुखहरु पनि भएकाले गुराँसको वन विस्तारै नासिँदै गएको स्थानीयवासी बताउँछन् । वडासदस्य राईले भने, “वर्षौपिच्छे लाग्ने डढेलोका कारण नयाँ गुराँस हुर्कन नपाउने पुराना रुख डढ्ने गरेकाले अरु बोट बिरुवा बढेको छ ।”

वंशिला, महाभारत डाँडा धरान उपमहानगरपालिका १७ मङ्गलबारे बजार क्षेत्रबाट करिब १४ किलोमिटर दूरीमा छ । मङ्गलबारेबाट धरान भञ्ज्जाङ सात किलोमिटर, भञ्जाङबाट विष्णुपादुका मन्दिर दुई किलोमिटर र मन्दिरबाट वंशिला झन्डै छ किलोमिटरको दूरीमा पर्दछ । स्थानीयवासीले गरेको श्रमदान र धरान उपमहानगरपालिकाले चार लाख बजेटबाट विष्णुपादुका मन्दिरबाट माथि गाडी सवारी चल्न सक्ने पाँच किलोमिटर सडक निर्माण गरिएको छ । 

भिरको जोखिमपूर्ण बाटोमा कहीँ पनि टेवा पर्खाल र भित्ताबाट वर्षाको पानी बग्ने खोल्सा र नाला पनि छैन भने वर्षायाममा ठाउँठाउँमा जाने ससाना पहिरोले अवरुद्ध हुने गरेको छ । वंशिला नजिकै महाभारत डाँडा रहेको छ भने १५ सय मिटरको उचाइमा हिमालय ध्यान केन्द्र स्थापना गरिएको छ । यो डाँँडा महाभारत पर्वत शृङ्खलाको सुनसरी(धनकुटा सिमानामा पर्दछ । ध्यान केन्द्रमा फर्पिङबाट आएका गुरु सोनाम लामाले यस क्षेत्रको मौसम आनन्ददायक रहेको बताए। यस क्षेत्रमा पहाडी भेगको जस्तो हावापानी रहेको छ लामाको भनाइ छ । यसअघि यस क्षेत्रमा घाँस, दाउरा गर्ने, सिकार खेल्नेबाहेक कोही पनि पुग्ने गरेका थिएनन् । रासस