खोटाङः धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि ५ जना स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।
यसै वर्ष निर्माण गरिने बसपार्कका लागि हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले ३ रोपनी ८ आना, प्रेमकुमारी गिरीले २ रोपनी, जीतबहादुर बस्नेतले २ रोपनी, थीरकुमार बस्नेत र तीर्थकुमार बस्नेतले ४÷४ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी आउने दर्शनार्थीले जथाभावी रूपले सवारी साधन राख्दै आएकाले बसपार्कका लागि स्थानीयले ३ करोड रुपैयाँबराबरको ८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको नगरप्रमुख इवन राईले बताए ।
जग्गादाताले हलेसी मन्दिरको उत्तरी क्षेत्रमा पर्ने पात्ले भन्ने ठाउँमा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा गएर नगरपालिकाको नाममा नामसारी गरिदिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए । बसपार्क निर्माणका लागि शहरी विकास मन्त्रालयबाट ३ करोड बजेट स्वीकृत भएलगत्तै नगरपालिकाले निःशुल्क जग्गा जुटाउन पहल थालेकोे थियो ।
दर्शनार्थीको दैनिक भीड हुने हलेसीमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि कम्तीमा पनि १० रोपनी जग्गा आवश्यक पर्ने भएकाले थप जग्गाका लागि पहल भइरहेको नगरपालिकाले जनाएको छ । प्राप्त जग्गामा कार्यालय भवन, आवास, कर्मचारी, यात्रु प्रतीक्षालय, शौचालय, धारा, बाथरुम, चमेनागृहगायत संरचना हुने नगरप्रमुख राईले बताए ।
सवारीसाधनको दैनिक बाक्लो चाप लाग्ने हलेसीमा नगरपालिकाले भाडामा जग्गा लिएर अस्थायी बसपार्क बनाएको थियो ।