इटहरीः पछिल्लो समय इटहरी सरकारका नगर प्रमुख हेमकर्ण पौडेलले बिभिन्न सामाग्री खरिदमा अनियमितता गरेको भन्ने बिभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नेकपा एमाले इटहरी नगर कमिटीले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
बुधबार सपथ ग्रहणसँगै सकिएको नेकपा एमाले इटहरी नगर अधिवेशनले पारित गरेका प्रमुख एजेण्डाहरु सार्वजनिक गर्दै नव निर्वाचित इटहरी नगरअध्यक्ष रुपेश बस्नेतले इटहरी उपमहानगरपालिकाले इटहरी अस्पतालका लागि खरिद गर्न लागेको सिटी. स्क्यान मेशिन, चीन गएर खरिद गरिएको नगर बस, नगरभित्र जडान गरिएका सिसी क्यामेरा, इन्फ्रास्टक्चर एम्बुलेन्स सेट समेतको खरिदमो अनियमितता भएको बिषयमा बाहिर आएका बिषयहरुको सत्य, तथ्य बाहिर ल्याउन जोडदार माग गरेका छन् ।
अधिवेशनले इटहरी उपमहानगरपालिकाको १५ औं नगर सभामा आर्थिक बर्ष ०८१/०८२ का लागि ल्याइएको बजेट कानुन विपरित भएको ठहर पनि गरेको बस्नेतले बताए ।
कानूनले निर्दिष्ट गरे बमोजिमको विधि प्रकृया नपुर्याई आन्तरिक यथार्थ आय भन्दा कयौं गुणा अधिक आयको प्रक्षेपण गरी बजेटको आकार बढाएकोले यसबाट नगरवासीमा अनावश्यक दायित्व भार बढ्ने देखिने बस्नेतले बताए । बजेट त्यसै अनुसार बाँडफाड भै खर्च हुने र आम्दानी न्यून हुदा योजनाहरु प्रभावित हुनुका साथै बजेट अभावमा भूक्तानी गर्न नसक्ने अवस्था सृजना हुने निश्चित रहेको उनले बताए । यसरी अनाधिकृत तवरले वडा अध्यक्षबाट प्रस्तुत बजेट कुनै हालतमा स्वीकार गर्न नसकिने भएकाले यथार्थ आयमा आधारित बजेट प्रस्ताव तयार गरी सभामा पेश गर्न नगर संसदिय दललाई आव्हान साथ निर्देशन पनि अधिवेशनले दिएको नवनिर्वाचित नगरअध्यक्ष बस्नेतले बताए ।
एमालेको नगर अधिवेशनले अविलम्ब उपमहानगर स्तरीय गुरु योजना निर्माण र स्वीकृत गरी कार्यान्वयनमा ल्याउन जोडदार माग पनि गरेको छ । आवश्यक अध्ययन नगरी, लगानी सुनिश्चित नभइ, डिपिआर तयार नगरी हचुवाको भरमा खोला किनार क्लियर गर्ने, खोला र पैनीको मापदण्ड एकै बनाउनु अनुचित भएको बस्नेतले बताए । पैनी वा कुलो जस्ता साना मसिना पानीको निकासहरुमा करिडोर बनाउछु भन्ने जस्तो हाँस्यास्पद घोषणा गुरु योजनाबाट पुष्टी हुनै सक्दैन त्यसैले यस्तो नगर्न र सर्वसाधारण माथिको आतंक बन्द गर्न स्थानीय सरकारसंग अधिवेशनले जोडदार मांग गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
उत्तर दक्षिण व्यापारिक मार्गको रुपमा रहेको इटहरी–दुहवी औद्योगिक कोरिडोरमा टेंग्रा खोला बाढीको प्रकोप सडक स्तरोन्नती हुँदा पनि समाधान नभएकाले प्रकोप न्युनिकरणको एक प्रमुख उपाय टेंग्रा डाइभर्सन नै हुने निश्कर्ष अधिवेशनले निकाले अध्यक्ष बस्नेतले बताए । यसका लागि सम्भाब्यता अध्ययन गम्भिरताका साथ अगाडि बढाउन स्थानीय सरकारसँग माग गरिएको उनले जानकारी दिए । वर्षादको पानी निकास गर्ने सतह ढल समेतको निकास बनाउन र अन्य सम्भाब्य अन्य उपायहरु अपनाएर बाढी प्रकोप न्युनिकरण गर्न र विपतमा पिडित हरुको द्रुत राहत, उद्दार र पुर्नः ब्याबस्थापन गर्न स्थानीय सरकारसंग अधिवेशनले माग गरेको बस्नेतले बताए ।
एमालेको अधिवेशनले पार्टी भित्रको आन्तरिक तिक्तता मेटाउन र आफू भित्र र आपसमा मित्रवत हार्दिकता विकास गर्न संकल्प गर्दै आन्तरिक अन्तरविरोधहरुलाई मित्रवत हल गर्न अपिल पनि गरेको छ । खास गरी नेतृत्वतहमा नै बाहिर देखिनेगरी तिक्तता पुर्ण अन्तरविरोध प्रकट हुने गरेकाले त्यसको मित्रवत हलगरी सुदृढ, जुझारु र एकतावद्ध पार्टी निर्माण गरी मिशन ०८४ सफल बनाउन अधिवेशनले जोडदार माग गरेको अध्यक्ष बस्नेतले बताए ।
पार्टी कमिटी र जनसंगठनहरु तदर्थवादी ढंगले चल्ते चलाते अवस्थाको स्थिती अन्त्य गरी हार्दिकता, मित्रवत र परिणाम मुखी कार्यकारी प्रणाली स्थापना गर्ने संकल्प पनि अधिवेशनले गरेको छ ।
वर्ग संघर्षको अभिव्यक्ती ब्यालेटले गर्ने हुदा पार्टीको स्थानीयतह संचालन निर्देशिका अनुसार नगर संसदीयदल र वडा संसदीय दलको अभ्यास अनिवार्य गर्दै अक्षरस पालना गर्ने गराउने प्रतिज्ञा पनि नगर अधिवेशनले गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
इटहरी नगरअधिवेशनले हालै मुलुकका दुई ठूला प्रजातान्त्रिक शक्ति नेकपा एमाले र नेपाली कांग्रेस विच देशको विकास, शान्ती र स्थिरताको लागी संविधान संसोधन सहितको सहकार्य गर्ने सहमतिलाई स्वागत गरेको अध्यक्ष बस्नेतले बताए ।