विराटनगरः प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयलाई निजीसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताएका छन् । बिहीबार विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्तीको अवसर पारेर आयोजना भएको वार्षिक खेलकुद कार्यक्रमको उद्घाटनमा उनले यस्तो बताएका हुन् ।

राज्यले आयोग बनाएर विज्ञहरूसँग विभिन्न छलफल गरेर निष्कर्ष निकाल्ने तयारी गरिरहेको भन्दै उनले यसमा सङ्घीय सरकारको धारणा पर्खिएको बताए । शिक्षामा एकरूपता कायम गर्न यसो गर्न लागिएको उनको भनाइ थियो ।

संस्थागत विद्यालयलाई सरकारीकरण गर्न कानुन र आर्थिक लगानीको हिसाबले असम्भव देखिएको उनले सो अवसरमा बताए । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष विनोद ढकालले विद्यालयको प्रगति हुनुमा अभिभावकको विश्वास, विद्यार्थीको मिहिनेत र शिक्षक कर्मचारीको लगनशीलता मुख्य रहेको बताए । विद्यालयका प्राचार्य टीकाराम पुरीले विद्यालयको शिक्षाको गुणस्तरलाई कायम राख्दै अब शैक्षिक ज्ञानलाई प्रविधि र सीपसँग जोडेर अघि बढ्ने बताए ।

आइतबार समापन हुने खेलकुद प्रतियोगिताको पहिलो दिन बिहीबार कक्षा १ देखि ५ सम्मका बालबालिकाले विभिन्न प्रतियोगितामा भाग लिएका छन् । शुक्रबार कक्षा ६ र ७ तथा आइतबार ८ कक्षादेखि माथिका कक्षाबीच खेलकुद प्रतियोगिता हुने विद्यालयले जनाएको छ ।

hikmat & binod

29