इटहरीः इटहरी उपमहानगरपालिकाका प्रमुख (मेयर) हेमकर्ण पौडेलले आउने श्रावण १ गतेबाट लागू हुने गरी ज्यालादारी, अस्थायी र करार कर्मचारीहरुको जागिर नविकरण नगर्ने प्रस्ताव गरेपछि ती कर्मचारीहरुको रुवाबासी नै चलेको छ । 

इटहरी नगरसभामा वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलले पेश गरेको बजेट पास नगर्ने अडान एमालेबाट निर्वाचित उपमेयर संगीता चौधरी सहितको बहुमत कार्यपालिका सदस्यहरुले यथावत राखेपछि मेयर पौडेलले कर्मचारीलाई विदा गर्ने नयाँ फण्डा अगाडि सारेर बार्गेनिङ सुरु गरेको एमालेले आरोप लगाएको छ । 

अनावश्यक तोक आदेशका भरमा आफ्ना नजिकका कार्यकर्ताहरुलाई इटहरी उपमहानगरपालिकामा जथभावी भर्ना गर्दा इटहरी सरकार र नगरवासीलाई आर्थिक भार परीरहेको भन्दै द्धारिकलाल चौधरी कार्यकालमा देखि हालसम्म नियुक्ती भएका करिब ३ सयबढी संख्याका कर्मचारीलाई विदा गर्ने सुक्रबारको छलफलबाट तयारी गरिएको नगरपालिका उच्चस्रोतले जनाएको छ । 

भोली(आइतबार) बस्ने इटहरी सरकारको नगरसभामा  द्धारिकका पालादेखिका ज्यालादारी, अस्थायी र करारमा नियुक्त भएका ३ सयबढी कर्मचारीको हकमा जागिर नविकरण नगरी विदाई गर्ने बेहोराको टिप्पणी आदेश नै  प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले तयार पारेर आफ्नो टेबलमा राखिसेका छन् । उनले उठाएको टिप्पणी सहितको फायल आइतबार बस्ने नगरसभामा पेश गर्ने तयारी रहेको स्रोतले जनाएको छ । 

इटहरी उपमहानगरपालिका कर्मचारी प्रशासन शाखा स्रोतका अनुसार टिप्पणी उठेसँगै मेयर पौडेल र प्रमुख प्रशासकिय अधिकृत मेहताले श्रावण १ गतेबाट विदा गर्ने भनिएका कर्मचारीहरुका नाममा पत्र समेत तयार पार्न आदेश दिएका छन् । आदेश अनुसार संजिव खड्का प्रमुख रहेको प्रशासन शाखाका केही कर्मचारीहरु पत्र तयारीमा समेत जुटिसेको बुझिएको छ । 

ज्यालादारी, अस्थायी र करार कर्मचारीलाई श्रावण १ गतेबाट विदा गर्ने व्यहोराको टिप्पणी उठाई पत्र समेत बनाउन तयारी समेत भएको खड्का नेतृत्वकै प्रशासन शाखाका कर्मचारीबाट सूचना चुहिएपछि तोक आदेशमा भरमा जागिर खाईरहेका ती कर्मचारीहरुको हिजो रातीबाटै रुवाबासी चलेको हो । 

उनीहरुले आ -आफ्ना दल नजिकका स्थानीय, जिल्ला , प्रदेश र केन्द्रका नेताहरुलाई आफुहरुलाई जागिरबाट निकाल्ने तयारी गरेको बारेमा फोन मार्फत जानकारी समेत दिएको बुझिएको छ । धेरैले जागिर थमाईदिन समेत हारगुहार गरेको बुझिएको छ । 

केही कर्मचारीहरुले भने त्यसरी निकालिए आन्दोलन गर्न पर्ने भन्दै सबैमा तयारी अवस्थामा रहन सर्कुलर समेत गरिसकेका छन् ।

ती कर्मचारीहरुलाई निकाल्ने बिषयमा टिप्पणी उठिसकेको र ३० गते(आइतबार)को नगरसभामा पेश गर्ने बिषयमा उपमेयर संगीता चौधरीलाई प्रमुख प्रशासकिय अधिकृत मेहतले फोन गरेर जानकारी दिएका थिए । मेहताको फोन आएपछि उपमेयर अलिबढी अतालिएको बुझिएको छ । नगरपालिका भित्र भएको छलफलमा त प्रमुख प्रशासकिय अधिकृत मेहताले उपमेयर चौधरीलाई हाँस्दै बजेट पास नभए श्रावण १ गतबाट सबै सवारीसाधन गुड्न नपाउने र चावी फिर्ता दिनु पर्नेसम्म धम्की दिएका थिए । उपमेयरले श्रावण १ गतेको कुरा के गर्नुहुन्छ आजैबाट चावी लगेहुन्छ भनेपछि मेहताले फेरी हाँस्दै कुरा अरु बिषय तिर मोडेका थिए । 

एमालेका अनुसार मेयर पौडेल र प्रमुख प्रशासकिय अधिकृत अनेकन फण्डा निकालेर मानसिक रुपमै तनाव दिएरै भएपनि बजेट पास गर्ने पक्षमा रहेका छन् । तर एमालले आगामी आर्थिक बर्षका लागि पेश भएको बजेट कुनै पनि दवाव, तनाव र फण्डा गरेपनि पास गर्न नदिने पक्षमा रहेको छ । 

एमालेले गर्यो बजेट संशोधन पेश, हुनबाट मेयरले रोके

आर्थिक बर्ष २०८१/२०८२ का लागि पेश भएको बजेट यथास्थितीमा पास हुनै नदिने अडान लिएको नेकपा एमाले इटहरी उपमहानगरले सुक्रबार बजेट संशोधन गरी इटहरी सरकारलाई बुझाएको छ । 

इटहरी सरकारमा एमालेको स्पष्ट बहुमत रहेको छ । एमालले संशोधन सहित बुझाएको बजेट ३ अर्ब ८ करोडको रहेको छ । एमालेले बुझाएको संशोधन सहितको बजेट प्रस्तावमा प्रमुख प्रशासकिय अधिकृत मेहताले तोक लगाएपनि दर्ताका लागि मेयर पौडेलले रोकेको एमाले इटहरी नगरका अध्यक्ष रुपेश बस्नेतले बताए । 

१० हजार देखि माथिका बजेट खर्च गर्दा अनिर्वाय कार्यपालिका बैंठकबाट पास गर्नु पर्ने नीति व्यवस्था समेतलाई आगामी आर्थिक बर्षबाट पालना गर्ने सम्मका नीतिगत कुरा राखेर बजेट संशोधन प्रस्ताव बुझाएको बस्नेतले बताए । चालु आर्थिक बर्षमा मेयरको तोक आदेशमा जाथाभावी बजेट खर्च भएकाले त्यसखालको कार्य नियन्त्रण गर्न जरुरी रहेकाले नीतिगत कुरा राखिएको उनले बताए । 

कर्मचारी निकाल्ने नयाँ फण्डा मेयरको बार्गेनिङः एमाले

नेकपा एमाले इटहरी नगरका अध्यक्ष रुपेश बस्नेतले इटहरी सरकारका प्रमुख मेयर पौडेलले आगामी आर्थिक बर्षका लागि नियम, पद्धती विपरित हावाको तालमा ल्याएको बजेटलाई जस्ताको त्यस्तै पास गर्नका लागि ज्यालादारी, अस्थायी र करारका कर्मचारीलाई निकाल्ने नयाँ फण्डा ल्याएको दावी गरे । 

यसो गरेपछि कर्मचारी र पार्टीको माथिल्लो तहबाट दवाव सृजना भई उपमेयर सहित एमालेका बहुमत सदस्यहरुबाट बजेट पास गर्ने योजनाका साथ यो फण्डा ल्याएको अध्यक्ष बस्नेतको भनाई छ । 

बजेट पास गर्ने बहना नबनाई तोक आदेशका भरमा नियुक्ती गरिएका कर्मचारीहरुलाई श्रावण १ गतेबाट विदा गर्दा एमाले इटहरी नगरलाई कुनै आपत्ति नहुने बस्नेतले बताए । एमाले शुसासन, पारदर्शीतामा स्पष्ट हुन चाहेको उनले जनाए । तर, बजेट पास गर्ने अड्को थापेर कर्मचारी विदा गर्ने कुरा एमालेलाई मान्य नहुने बस्नेतले बताए । 

बजेट पास नहुँदैमा पहाड नै नखस्ने बस्नेतले बताए । यहि अवस्थामा इटहरीमा यस पटक बजेट होली डे हुन्छ । भदौंमा ल्याएर अगाडि बढ्न सकिने ठाँउहरु धेरै छन् । त्यसतर्फ नै लाग्नका लागि आफुले स्पष्ट रुपमा इटहरी सरकारको नेतृत्वमा रहेकाहरुलाई निर्देशन दिइसकेको बस्नेतले जानकारी दिए । विधि र प्रकृया मिचेर इटहरी सरकारले नगरसभामा बजेट पेश भएपछि हालसम्मको सबै घटनाक्रमका बारेमा आफुले केन्द्रि, प्रदेश र जिल्ला तहका नेताहरुले स्पष्टसँग यथर्थात कुरा राखिसकेको अध्यक्ष बस्नेतले बताए । 

अघिल्लो आर्थिक बर्षको बजेट पास गर्ने बेलामा पनि मेयरले अनेकन फण्डा ल्याएको उनले बताए । अब यसपटकबाट त्यस्तो हुनै नदिने अध्यक्ष बस्नेतले बताए । बहुमत सदस्य भएको  पार्टीका तर्फबाट सहभागी जनप्रतिनिधिहरुको भूमिका जनताको हितमा हुन पर्ने स्पष्ट निर्देशन गरिएको उनले बताए । अगाडिको बर्ष भएका कमिकम्जोरी गर्ने छुट अब कसैलाई नभएको उनको भनाई छ । 

३३ प्रतिशत उपस्थिती पुर्याएर बजेट पास गर्ने तयारी

आगामी आर्थिक बर्षका लागि पेश गरिएको बजेट जसरी भएपनि पास गर्ने तयारीमा मेयर पौडेल लागि परेका छन । आइतबार बस्ने नगरसभा तेस्रो पटक हो । नियम अनुसार बजेट पेश भएपछिको तेस्रो बस्ने बैंठकमा कार्यपालिका कुल सदस्यको ३३ प्रतिशत उपस्थित हुदाँ बजेट पास हुन्छ । त्यही नियमलाई समाएर मेयर बजेट पास गर्ने पक्षमा रहेका छन् । त्यसका लागि उनले गोप्य रुपमा आफ्ना निकट केही व्यक्तिहरुलाई वडा वडामा केही कार्यपालिका सदस्यहरुलाई फकाईसकेका छन् । हातहात र उदारो बजेट तथा कार्यक्रम नै दिएर केही कार्यपालिका सदस्यहरुलाई फकाईसकेको स्रोतको दावी छ । 

एमालेबाट विजयी भएका केही वडाका वडाध्यक्षलाई पनि मेयर पौडेलले फकाईसकेको बुझिएको छ । ती वडाअध्यक्षहरुले बजेट पास गराउने बिषयमा पार्टीका केन्द्रिय तहका नेता, प्रदेशका जनप्रतिनिधि र इटहरीका पूर्व जनप्रतिनिधिहरुलाई फोन गरी लबिङ नै थालिसकेको बुझिएको छ ।  

ती वडाअध्यक्षहरुले पहिलाबाटै एमाले पार्टीभित्र भएका गोप्य बैंठकका कुरा मेयरलाई समेत जस्ताको त्यस्तै सुनाउने गरेको प्रमाण फेला परेको एमाले स्रोतको भनाई छ । यतिसम्म कि केही दिन अगाडि एमालेको निर्वाचित नयाँ पदाधिकारीहरुको सपथग्रहण कार्यक्रममा उपमेयर संगीता चौधरीले गरेको भाषण जस्ताको त्यस्तै मेयर पौडेललाई बुझाएको प्रमाण समेत फेला परेकाले ती वडाध्यक्षहरुले खेलिरहेको भूमिका बिषयमा एमालेले गम्भिर रुपमा लिइएको बुझिएको छ ।