इटहरी: पार्टीको अडानलाई लत्त्याएर सोमबार इटहरी नगरसभामा सहभागी भई बहुमतले बजेट पास गरेपछि एमालेका युवा नेताहरूले पार्टीलाई बदनाम गराउने र फेल गराउने उद्देश्यबाट गरिएको प्रपञ्चको गम्भीर समीक्षा गरी यसमा संलग्न जनप्रतिनिधिहरूलाई स्पष्टीकरण लिई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । 

बहुमतले बजेट पास भएपछि एमालेका युवा नेता होमप्रसाद धमलाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टीको नीतिभन्दा विपरीत जाने जो कोही पनि पार्टीका लागि घातक भएको उल्लेख गरेका छन् । उनले  नगरसभामा सहभागी भएका जनप्रतिनिधिहरूको स्तर अनुसार सम्बन्धित निकायमा कारबाहीको सिफारिस लेखी नेकपा एमाले इटहरी उपमहानगर कमिटीले पठाउनु पर्ने माग धमलाले गरेका छन् । 

 राजनीतिक बेइमान दलालहरूले पार्टी र नगरप्रति घात गरेको उनको आरोप छ । यसको हिसाब किताब समयले गर्ने उनको भनाई छ  । हचुवाको भरमा व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्देश्यले ल्याएको बजेट पास गरे भनेर खुसी हुने नाइके लोभी पापीहरूको बीचमा खेलेर काइते किर्ते तरिकाले यो हदसम्म पुग्छ भन्ने नसोचिएको उनले उल्लेख गरेका छन् ।  यो कुनै महान् काम गरियो भनेर फुर्ती नगर्न उनले भनेका छन् ।  ढोङी बनेर सफेद रङमा भगवानका नाम लिएर गरिएका नौटङ्कीहरू धेरै दिन नटिक्ने धमलाको दाबी छ ।  यसले एक दिन पोल्नेछ र खाँदै गरेको औषधीले पनि काम नगर्ने उनले बताए । 

उनी लेख्छन्—‘अपराधबाट सिर्जित धनले सधैँ समयलाई किन्न नसक्दै हेक्का रहोस् जाल साक्षीका महाराजहरू ! कम्युनिस्ट नेताका नाममा जनतालाई घात गरेर पैसाको पछि कुद्ने द्रव्य पिशाचहरू बेलैमा नसचिए  नाम र तस्बिर सार्वजनिक गर्नुपर्ने हुन्छ हेक्का राख यो तिम्रो बाउको बिर्ता होइन नगर ।’ 

9c9238e3-abb6-4a69-b44e-fa2a56e92668

इटहरी सरकारले १५औ नगरसभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि ३ अर्ब५७ करोड ८४ लाख ५० हजार बराबरको अनुमानित बजेट पेश गरी पास गरेको छ । यो बजेट गत आर्थिक वर्षको भन्दा ८३ करोड हाराहारीले बढी हो । जुन प्रतिशतमा ३० हुन आउँछ । बजेट वृद्धि गर्दा सामान्यतया १० प्रतिशतले तलमाथि गर्ने अभ्यास रहेको धमलाले उल्लेख गरेका छन् ।  आर्थिक वर्ष २०८०/८१ को बजेट घाटा ८३ करोड ६४ लाख २० हजार हाराहारीमा छ जसको कारणले गर्दा सो बराबरको योजनाको भुक्तानी  इटहरी सरकारले दिन नसकेको उनले बताए ।

33dc40cb-1077-4a7f-ba66-6a4d71e83f57 1

यो रकम यस चालु आर्थिक वर्षको बजेटबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।  ८३ करोड ६४ लाख २० हजार गत वर्षको बजेट घाटा हुँदाहुँदै आम्दानीका स्रोतहरू सुनिश्चित नभई हचुवाका भरमा करिब ८३ करोड हाराहारीले बढाइएको यो चालु वर्षको बजेटले  यो वर्षको अन्त्यसम्ममा करिब १ अर्ब ६५ करोडभन्दा बढी को योजनाहरूको भुक्तानीमा समस्या आउनेछ र आर्थिक वर्षको अन्त्यसँगै गत वर्षको भन्दा बजेट घाटा दोब्बर हुने धमलाले उल्लेख गरेका छन् ।

यसले समग्र नगरबासी र योजनाहरूको काम गर्ने व्यवसायीहरूलाई प्रत्यक्ष रूपमा असर पर्ने देखिएको उनले बताए ।  बजेट कसैको लहडका भरमा, रहर पूरा गर्नका लागि कसैको व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि बनाउने विषय होइन, यो कसैको राजनीतिक अभीष्ट पूरा गर्ने नियतले आएको बजेट सर्वथा गलत अभ्यासबाट आएको उनको दाबी छ ।  उनी लेख्छन्—‘यस कार्यमा संलग्न नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष  भएका केही वडा अध्यक्षहरू, केन्द्रीय कमिटीका  केही सदस्यहरू, प्रदेश कमिटीका केही सदस्यहरू प्रति घोर भर्त्सना व्यक्त गर्दछु ।’  

d30c025b-a57b-42de-8d96-43d72b2a8400

एमालेबाट निर्वाचित नगर सदस्य दीपक घिमिरे सागरले बजेट स्थानीय सरकार सञ्चालन ऐन भन्दा फरक तरिकाबाट सभामा पेस भएको  बताएका छन् ।  घिमिरे सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्—‘सभामा   विषयगत समितिहरूले दिएको राय सुझाव र उपप्रमुखले ल्याएको आर्थिक विधेयकमा कार्यपालिकाबाट अनुमोदन गराई सभामा प्रस्तुत गरी पास गरिनुपर्ने कानुनी मान्यतालाई चुनौती  दिँदै उप प्रमुखको अनुपस्थितिमै बजेट पास गरिनुले इटहरी नगर सरकारलाई कुरिकुरी भन्न मन लाग्यो ।’

एमाले इटहरीकै अर्का युवा नेता सुनिल कार्कीले नेकपा एमालेबाट निर्वाचित केही वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू अनेकन लोभमा परी पार्टीको केन्द्रीय कमिटी सदस्यहरूलाई समेत प्रलोभनमा पारी महत्वाकांक्षी बजेट पास गर्ने योजना अनुसार नेकपा एमाले दुई भागमा विभाजित हुन पुगेको बताएका छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुकमा बजेट पास भएको पछि आफ्नो धारणा सार्वजनिक गर्दै कार्की लेख्छन्—‘नगर सभामा उपमेयर सहित केही वडा अध्यक्षहरू अनुपस्थित हुने अवस्था सृजना पार्टी भित्रबाट नेता÷जनप्रतिनिधि विभिन्न प्रलोभनमा परेको प्रस्ट छ  । जनता÷कार्यकर्तालाई जवाफ चाहिन्छ नत्र नाम सहित जनतालाई प्रस्ट पारिन्छ ।  अहिलेलाई यत्ति नै ।’ 

96419348-afc0-4ebe-a42b-f84a25768481