किमाथाङ्काः सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । 

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए। ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए। रासस