काठमाडौंः गोरखा सुलिकोटका मानबहादुर गुरुङ ३० महिनाअघि साउदी अरब पुगे । गुरुङ ३० महिनाअघि साउदीको एक होटलको कामका लागि त्यहाँ पुगेका थिए । २ वर्ष होटलमै काम गरे पनि विगत १ वर्षदेखि कम्पनीले इकामा नवीकरण गरिदिएन । ६ महिनादेखि उनलाई जबर्जस्ती कृर्षि फार्ममा (मज्राह) काम गर्न लगायो ।

मज्राहमा काम गर्न गार्हो भएको र साउदीको बसाइ पनि गैरकानुनी भएको अवस्थामा उनको इकामाको मिति पनि सकिएमा गैरकानुनी हुने भएपछि उनी आरसीसी प्रवक्ता अली उर्सिन मियाको सम्पर्कमा पुगे । त्यसपछि रियादस्थित नेपाली दूतावासका प्रतिनिधि विशालकुमार श्रेष्ठ र मियाको सहकार्यमा बहिर्गमन भिसा (एक्जिट भिसा) का लागि आवश्यक कागजात बुरैदा लेवरकोर्टमा पेस गरे ।

एक्जिट भिसा प्राप्त भएपछि उनी आइतबारको उडानमार्फत नेपाल फर्कन सफल भएको एनआरएनए क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिए ।

यस्तै समस्या दैलेखका भरतकुमार खड्काको पनि छ । कम्पनीले इकामा नवीकरण नगरेर गैरकानुनी बनाइ अलपत्र पारेपछि एनआरएनएले आवश्यक सहयोग गरी उनलाई नेपाल पठाएको छ ।

खड्का २ वर्षअघि साउदी पुगेको र कम्पनीले १ वर्षदेखि इकामा नवीकरण नगरी अलपत्र अवस्थामा राखेको थियो । उनी तीन महिनादेखि बिरामी परेर काम गर्न नसक्ने भएपछि कम्पनीले घर पठाउन खोजेको थियो । तर, उनको इकामा नवीकरण नभएकाले घर फर्कन समस्या भयो ।

उनलाई पनि एनआरएनएले एक्जिट भिसा लगाउन सहयोग गरी भिसा प्राप्त भएपछि नेपाल फर्काएको सचिव श्रेष्ठले बताए । एनआरएनएले रोजगारदाता कम्पनीले इकामा नबनाइदिएर गैरकानुनी बनाएर अलपत्र परेका नेपालीलाई सहयोग गरी नेपाल फर्काउदै आएको जनाएको छ ।

उनीहरू त एक प्रतिनिधि पात्र मात्र हुन्। रोजगारदाता कम्पनीहरूले इकामा नबनाइदिने करारबमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । जसले गर्दा विदेशमा श्रम गर्न पुगेका नेपाली दाजुभाइलाई बाहिर हिँडडुल गर्न समस्या हुने गरेको छ । उनीहरू आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउनबाट वञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट पीडित हुनुपरेको त्यहाँ क्रियाशील नेपाली संघसंस्था तथा सामाजिक अभियन्ताले बताउने गरेका छन् ।

साथै, यस्ता घटनालाई कम गर्न नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाति आफ्नो अधिकार लिन अनुरोध गरेको छ ।

यसका लागि दूतावास तथा साउदीमा भएको नेपाली समाजका अगुवाहरूले साथ सहयोग गर्ने जनाएका छन् । कफिलले एक्जिट/रिइन्ट्री भिसा दिएर नपठाएमा कामदार स्वदेश फर्कने अवस्था हुँदैन । सूचीकरण नभएका कामदार कुनै मुद्दा मामिला नभए र स्पोन्सरले हुरूब लगाएको भए डिपोर्टेसन सेन्टर–सफरजेलबाट एक्जिट भिसा जारी गरी स्वदेश फर्कन सक्नेछन् ।

पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौतानुसारको तलब नपाउने र पाए पनि समयमा नपाउदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउनेछन् ।

साउदीमा करिब ११ हजारभन्दा बढी नेपालीले गैरकानुनी रूपमा काम गर्ने गरेको दूतावासको तथ्यांक छ भने दूतावासको सम्पर्कमा नआएका त कति छन् कति । साउदीमा करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका पाइन्छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।