इटहरीः कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य मध्येको धनकुटाको साँगुरीगढी गाउँपालिमा पर्ने भेडेटारमा निर्माण भएको भेडेटार स्काईवाकको सुक्रबार(आज) औपचारिक उद्घाटन हुँदैछ । उद्घाटनसँगै सुक्रबारबाटै स्काईवाक संचालक कम्पनीले आफ्नो सेवा प्रारम्भ गर्ने वन्डर्स अ्म्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रा लि भेडेटार धनकुटाका संचालक सदस्य पर्यटन व्यवसायी सुनिल भुषालले जानकारी दिए ।
यो स्काईवाक ऐतिहासिक चाल्र्स पोइन्टमा रहेको चाल्स टावर मासेर सोही स्थानमा निर्माण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीको प्रमुख आतिथ्यमा स्काई वाकको उद्घाटन गर्ने कार्यक्रम तय भएको भुषलले जानकारी दिए। चार बर्षअघिदेखि स्काईवाक निर्माण गर्न थालिएको थियो । तत्कालिन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको पालामा सम्झौता भई स्काई वाक निर्माण शुरु भएको थियो । यो स्काई करिब २० करोड लगानीमा निर्माण भएको छ । प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा स्थापना भएको हो । वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लगानीमा निर्माण गरिएको परियोजनाको कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिएका छन् ।
स्काईवाक संचालनसँगै भेडेटारको पर्यटकीय गतिविधि र विकासमा थप सहयोग पुग्ने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । पछिल्लो समय भेडेटार आउने पर्यटक मध्ये धेरै जसो भारतीय रहेको जानकारी दिँदै स्काईवाक संचालनसँगै अब भारतबाट आउने पर्यटकहरुको संख्यामा पनि बृद्धि हुने विश्वास पालिकाले लिएको उनले जनाए ।
उनका अनुससार भेडेटार आउने पर्यटकहरुको बिषेश सुरक्षाका लागि भेडेटारमा पर्यटक सहायता पोष्ट स्थापना भएको छ । घुम्न आउने पर्यटकहरुलाई सुरक्षाको पुर्णरुपमा अनुभूति दिलाउने उद्देश्यले नेपाल प्रहरीको पर्यटक सहायता पोष्ट स्थापना भएको हो । तीन जनाको दरबन्दी रहेको उक्त पर्यटक सहायता पोष्टको बुधबार एक कार्यक्रमबीच साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले नै उद्घाटन गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एवं एसपी श्यामसिंह चौधरीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
गाउँपालिका प्रमुख रुम्दालीका अनुसार नेपाल प्रहरीले भेडेटामार ३ जना पर्यटक प्रहरीको दरबन्दी दिएको छ । भेडेटार चोकस्थित पोष्टमा हवल्दारको नेतृत्वमा २ जना पर्यटक प्रहरी बस्ने पनि उनले बताए । ‘यहाँ आउने पर्यटकहरुलाई अफ्ठेरो पर्दा सहयोग गर्ने, सहजीकरण गर्ने र पर्यटकीय गन्तव्यहरुबारे जानकारी दिने काम हुन्छ,’उनले भने,‘केही समस्या आयो भने पर्यटक प्रहरीले सम्बोधन गर्नेछन् ।’
पर्यटक प्रहरी पोष्ट तयार गर्न गाउँपालिकाले सहयोग गरेको छ । भेडेटारमा पर्यटक प्रहरीको माग धेरे अघिदेखि भइरहेको थियो । नेपाल प्रहरीले धनकुटाको भेडेटारसँगै ताप्लेजुङको पाथीभारा, इलामको कन्याम, खोटाङको हलेसी र सुनसरीको बराहक्षेत्रमा पनि पर्यटक प्रहरी खटाएको छ । ‘पर्यटकलाई सुरक्षित छौं भन्ने अनुभूति दिलाउने मुख्य उद्देश्य हो । यहाँ पर्यटकहरुको तथ्यांक पनि राखिन्छ । अरु जिल्लाको पर्यटकीय सुचनाहरु पनि राख्छौं,’ अध्यक्ष रुम्दालीले भने ।
भेडेटारलाई विगतमा प्रदेश सरकारले पर्यटकीय गाउँपालिका घोषणा गरेको थियो । अहिले पनि सोही घोषणा गरेर बिशेष लगानी र अनुदान दिन पहल गरिरहेको गाउँपालिका अध्यक्ष रुम्दालीले बताए ।