इटहरीः प्रदेश १ का मन्त्रीहरूको दैनिकी खुद्रा पसल उद्घाटनमै बित्ने गरेको छ । सपिङ मलदेखि खुद्रा पसल उद्घाटनमै उनीहरूको दैनिकी बित्ने गरेको हो । मन्त्रीहरू मात्र होइन मुख्यमन्त्री राई आफँै पनि पसल उद्घाटनमा समय बिताइरहेका छन् ।

स्पष्ट कार्ययोजना र दृष्टिकोणको अभावमा प्रदेशका मन्त्रीहरू कामविहीन भएका हुन् । के काम गर्ने र कुन विषयमा काम गर्न भन्ने स्पष्ट योजना नभएका कारण अलमल परिरहेको स्वयम् मन्त्री नै स्वीकार्छन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की कानुन र निर्देशिका बन्न नसक्दा काम गर्न समस्या परिरहेको बताउँछन् । प्रायः समय कार्यालयमै बिताउने र बाँकी समय सभा समारोह र उद्घाटनमै बित्ने गरेको उनको भनाइ छ । सङ्घीय संसदले बनाउनुपर्ने केही महत्वपूर्ण कानुनको अभावमा आफूहरू कामविहीन भएको उनको तर्क छ ।

आफ्नो मतहतमा सुरक्षा र कानुनको विषय परे पनि प्रदेश प्रहरी राख्न पाउने कि नपाउने भन्नेमा अझै अन्योल रहेका कारण स्पष्ट योजना ल्याएर काम गर्न नसकिएको उनको भनाइ छ । कानुनका विषयमा भने काम भइरहेको उनी बताउँछन् ।

उनीमात्र होइन मुख्यमन्त्री आफैँ तरकारी पसलदेखि सपिङमल उद्घाटनमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा खासै कामको चाप नभएपछि व्यस्तताको लागिमात्र भए पनि उनी यस्ता कार्यक्रममा सहभागी हुने गरेका हुन् । हाल उनी जिल्ला सभाको कार्यक्रमको प्रमुख अतिथि बन्न गृहजिल्ला भोजपुर पुगेका छन् । त्यसपछि उनी धनकुटामा हुने एक कार्यक्रमको प्रमुख अतिथि बन्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

कुनै खास योजना बनाउन र त्यसै अनुसार काम गर्न नियम र कार्यविधि आवश्यक पर्ने भन्दै सम्पूर्ण कानुन नबनेसम्म यस्तै कार्यक्रममा उनी व्यस्त हुने देखिन्छन् ।
उता सामाजिक विकासमन्त्री जीवन घिमिरेको पनि भनाइ त्यस्तै छ । विभिन्न क्षेत्रबाट शुभचिन्तकहरूको निमन्त्रणा हुने भएकाले त्यतै व्यस्त हुने गरको उनको भनाइ छ । ‘केही समय कार्यलयमा व्यस्त भइयो अब मन्त्रालयमातहतको काममा लाग्ने बेला भयो’ उनी भन्छन् ।

पर्यटनमन्त्री जगदीश कुशियत कतिपय कानुनको अभावमा काम प्रभावित भइरहेको बताउँछन् । आफूहरू विधेयक, नियमावली र निर्देशिका बनाउने काममा लागेको उनको भनाइ छ । पर्यटन मन्त्रालयमातहतका विकासका काम गर्न आफूहरू लागि परेको तर केही प्राविधिक समस्याका कारण नसकिरहेको उनी बताउँछन् ।

यसरी नै प्रदेशका मन्त्री पनि व्यस्तता देखाउनकै लागि सहकारीको कार्यक्रमदेखि किराना पसलको उद्घाटनमा समय बिताइरहेका छन् । खास योजना नहुँदा र योजनाअनुसार काम गर्ने प्रणालीको विकास हुन नसक्दा उनीहरू अलमलमा परिरहेका छन् ।