इटहरीः रोजगारीका लागि मलेसिया पुगेका चार नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ ।

दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ सस्थालाई आग्रह गर्ने गरेको छ । पछिल्लो समय लमजुङका कृष्ण घर्तीमगर, धादिङको गंगाजमुना गाउँपालिका–५ का रमेश थापा, पाटन नगरपालिका–४ बैतडीका जीतबहादुर चन्द र इलामको फाकफोकथुम गाउँपालिका–१ स्थायी घर भएका डिसन लिम्बु बेपत्ता भएको भन्दै खोजी गर्न दूतावासले अनुरोध गरेको हो ।

लमजुङका मगर विगत लामो समयदेखि घरपरिवारको समपर्कमा नरहेको भन्दै परिवारले दूतावासमार्फत खोजी गरिदिन अनुरोध गरेको छ । यस्तै, धादिङका थापा पनि ३० चैत २०७२ मा मलेसियाको रिलायन्स सेक्युरेटी कम्पनीमा गएको र मलेसिया पुगेदेखि नै सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।

यसैगरी, बैतडीका चन्द मलेसियाको एसडब्लूएम इन्भाइरोमेन्टल कम्पनीमा काम गर्दै गरेकामा २५ असारबाट सँगै काम गर्ने साथीभाइ तथा परिवारसँग सम्पर्कविहीन भएकाले खोजी गरिदिन दूतावासले अनुरोध गरेको छ । यस्तै, इलामका लिम्बु मलेसियाको चुन स्वी लुङ फार्म कम्पनीमा श्रम गर्न गएको वर्ष दिन नपुग्दै ११ कात्तिक २०८० बाट परिवार, साथीभाइ र कम्पनीसँग सम्पर्कविहीन भएकाले उनलाई कसैले देखेमा दूतावासको हटलाइन ०१६२४७२७७७ मा सम्पर्क गरी जानकारी दिन अनुरोध गरिएको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेको र त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरीदिन कल आउने गरेको दूतावासले जनाएको छ । साथै, कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै करणवश त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको जनाइएको छ ।

मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसियामा नेपाली कामदार हराएका हुन् ।

परिवारको सम्पर्कबाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भए पनि सो प्रभावकारी हुन नसकेको सरोकारवालाहरू बताउँछन् । वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ ।

विदेशी भूमिमा हराइरहेका कामदारका ’दयगतमा पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।