तेह्रथुमः तेह्रथुमको फेदाप गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले ६० लाख रुपैयाँबराबरको ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
गाउँपालिकाको केन्द्र औँसीबजार नजिकै भवन निर्माणका लागि जग्गा प्राप्त भएको हो । सो जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेशन पाससमेत गरिसकिएको गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताए । उनका अनुसार गाउँपालिकालाई स्थानीय होमप्रसाद कोइराला, गङ्गा राई, अमृतबहादुर लिम्बू र जयप्रसाद लिम्बूले संयुक्त रूपमा ३० लाख रुपैयाँबराबरको तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् ।
त्यस्तै स्थानीयवासी शेरबहादुर थापाले स्व श्रीमती तिलरुपाको स्मृतिमा ३० लाख रुपैयाँबराबरको ३ रोपनी जग्गा उपलब्ध गराएका हुन् । जग्गा प्राप्तिपछि अब गाउँपालिकाको आफ्नै भवन निर्माणका लागि पहल थालिने अध्यक्ष चोङवाङले बताए ।
गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडाका लागि मात्रै गाउँपालिकाले लाखौँ रुपैयाँ खर्च गरिरहेको छ । भाडाको घरमा साँघुरा कोठा भएकाले काम गर्नसमेत असजिलो भइरहेको बताइएको छ ।