रसियाका विभिन्न ११ शहरका १२ रंगशालामा १ महिना चलेको विश्वकप फुटबलसम्बन्धी केही तथ्यांक यसप्रकार रहेका छन् ।
टाइब्रेकरमा २६, पेनाल्टीमा २२ गोल
३२ देशले भाग लिएको प्रतियोगितामा ६४ खेल भएका थिए । खेलअवधिभर १ सय ६९ गोल भएको प्रतियोगितामा पहिलो हाफमा ६५ गोल र दोस्रो हाफमा १०४ गोल भएका थिए । अतिरिक्त समयमा ३ गोल हुँदा टाइब्रेकरबाट २६ र पेनाल्टीमा २२ गोल भएका थिए ।
पेनाल्टीमा फ्रान्सका ग्रिजम्यान र इंग्ल्याण्डका ह्यारी केनले ३/३ गोल गरेका थिए । जेडिनाक र एन्ड्रियस ग्राङभिष्टले २÷२ गोल गर्दा रोनाल्डो, लुका मोड्रिक, सिन्जी कागवा, मोहम्मद सलाह, सासी–ट्युनिसिया, इडेन हजार्ड, कार्लोस भेला, सलमान अर फराज, करिम अन्सारीफार्ड, भिक्टर मोसेस, गिल्फी सिगुर्डसन, अर्टिम ज्यूभाले १/१ गोल गरेका थिए ।
७ पेनाल्टी ‘मिस’, फ्रि किकमा ६ गोल
यो विश्वकपमा ७ वटा पेनाल्टी प्रहार गोलमा परिणत हुन सकेनन् । अर्जेन्टिनाका मेसी, पेरुका क्रिष्टियन कुयुभा, आइसल्याण्डका गिल्फी सिगुर्डसन, साउदी अरबका पाहद अल मुवालद, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, कोस्टारिकाका ब्रायन रूइज र क्रोएसियाका लुका मोड्रिजको पेनाल्टी गोल हुन नसकेको हो । त्यस्तै, ६ वटा गोल फ्रिकिकमार्फत् भएका थिए । रसियाका एलेकसन्डर गोलोभिन, पोर्चुगलका रोनाल्डो, सर्बियाका एलेक्ससान्डर कोलारोभ, जर्मनीका टोनी क्रुस, उरुग्वेका लुइस स्वारेज र इंग्ल्याण्डका किरण ट्रिपरले फ्रिकिकमार्फत् गोल गरेका थिए । त्यस्तै, फाइनल खेलसहित अन्य खेलमा गरी जम्मा १२ वटा गोल आत्मघाती गोल भएका थिए ।
पहेंलो कार्ड पाउनेमा उपविजेता र विजेता अघि
उपविजेतामा चित्त बुझाएको क्रोएसियाले प्रतियोगिताभरमा सबैभन्दा धेरै १५ वटा पहेंलो कार्ड पाएको छ । विजेता फ्रान्सले १२ वटा पहेंलो कार्ड पाएको छ । यी दुवै देशले रातो कार्ड चाहिँ एउटा पनि पाएनन् । तस्रो स्थानमा चित्त बुझाएको बेल्जियम पहेंलो कार्ड पाउनेमा पनि तेस्रो नै भएको छ । उसले ११ वटा पहेंलो कार्ड पाउँदा अर्जेन्टिना र पनामाले पनि समान ११ वटा पहेँलो कार्ड पाएका छन् । दक्षिण कोरियाले १० वटा पहेंलो कार्ड पाउँदा कोलम्बियाले ९ वटा पहेँलो र एउटा रातो कार्ड पाएको छ ।
मेक्सिको, स्वीट्जरल्याण्ड र सर्बियाले पनि समान ९ वटा पहेंलो कार्ड पाएका थिए । मेक्सिकोले एउटा रातो कार्ड पनि पाएको थियो । इंग्ल्याण्ड, स्वीडेन र मोरक्कोले समान ८ पहेंलो कार्ड पाएका थिए । पोर्चुगल, ब्राजिल, मोरक्को, इरान र अष्टे«लियाले समान ७ वटा पहेंलो कार्ड पाउँदा रुस, डेनमार्क, सेनेगल र कोष्टारिकाले ६/६ वटा पहेंलो कार्ड पाएका थिए । आयोजक रुसले एउटा रातो कार्ड पनि पाएको थियो ।
इजिप्ट, जापान र पेरुले समान ५ तथा ट्युनिसिया र नाइजेरियाले ४/४ वटा पहेंलो कार्ड पाउँदा उरुग्वे, आइसल्याण्ड र पोल्याण्डले समान ३ तथा जर्मनी र स्पेनले २/२ वटा र साउदी अरबले एउटा पहेँलो कार्ड पाउँदा जर्मनीले एउटा रातो कार्ड पनि पाएको थियो । ४ वटा रातो कार्डमध्ये स्वीडेन विरुद्ध खेल्ने टिमले २ वटा रातो कार्ड पाएका थिए । स्वीडेनविरुद्ध खेल्ने जर्मनी र स्वीटजरल्याण्डले रातो कार्ड पाएका थिए ।
त्यस्तै, स्पेनविरुद्धको खेलमा पोर्चुगलका रोनाल्डो र पनामाविरुद्धको खेलमा इंग्ल्याण्डका ह्यारी केनले ह्याट्रिक गरेका थिए । ह्याट्रिक गर्नेमध्ये इंग्ल्याण्डका ह्यारी सर्वाधिक गोलकर्ता खेलाडी भए । उनले ह्याट्रिकसहित ६ गोल गरेका थिए । अर्का ह्याट्रिककर्ता रोनाल्डोले भने जम्मा ४ गोल गरे ।
रोनाल्डोसँगै ४ गोल गर्नेमा फ्रान्सका २ जना खेलाडी देखिए । फ्रान्सका केलियन एमबाप्पे र एन्टोइन ग्रिजम्यानले ४/४ गोल गरेका थिए । त्यस्तै रोमेलु लुकाकु (बेल्जियम) र डेनिस चेरेसेभ (रसिया) ले पनि ४/४ गोल गरेका थिए । क्रोएसियाका मारियो म्यान्जुकिक र इभान पेरिसिकले ३÷३ गोल गरेका थिए ।
बेल्जियमको धेरै गोल
प्रतियोगितामा तेस्रो स्थान बनाउन सफल बेल्जियमले प्रतियोगिताअवधिभरमा सबैभन्दा धेरै १६ गोल गरेको थियो । विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसियाले समान १४/१४ गोल गरेका थिए । इंग्ल्याण्डले १२ गोल गर्दा रुसले ११ र ब्राजिलले ८ गोल गरेका थिए ।
युरोप अघि
फुटबल खेलमा युरोपेयिन देशहरू अब्बल देखिन्छन् । विश्वकपका धेरै संस्करणका विजेता युरोपेयिन देश नै छन् । हालै सम्पन्न प्रतियोगितामा पनि युरोप नै अघि देखिएको छ । विश्वकपमा सहभागी ३२ देशमध्ये युरोपबाट १४ देशले खेलेका थिए । तीमध्ये आइसल्याण्ड, सर्बिया, जर्मनी र पोल्याण्ड ४ वटा देश मात्रै अन्तिम १६ मा पुगेका थिएनन् ।
दक्षिण अमेरिकाबाट ५ देशले सहभागिता जनाएकोमा पेरुबाहेक बाँकी देश अन्तिम १६ मा पुगेका थिए । एसियाबाट पनि ५ वटै देश सहभागी भएकोमा एउटा देशमात्रै अन्तिम १६ मा पुगेको थियो ।
उत्तर र मध्य अमेरिकाबाट ३ देश सहभागी हुँदा एउटा देश अन्तिम १६ मा पुगेको थियो भने अफ्रिकाबाट सहभागी ५ वटै देश समूह चरणबाटै बाहिरिएका थिए ।