इटहरीः आधुनिक नेपाली राज्य स्थापना गर्ने राजा पृथ्वीनारायण शाहको जयन्तीको दिन नेपाल सरकारले कुनै कार्यक्रम गरेको छैन । तर, इटहरीमा नागरिकस्तरबाट पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा आज पृथ्वी जयन्तीको कार्यक्रम हुने भएको छ ।
राष्ट्रिय एकता दिवसको रूपमा पृथ्वी जयन्ती मनाउन इटहरीमा सुवर्णबहादुर थापाको नेतृत्वमा मूल आयोजक समिति बनाइएको छ । आज बिहान ११ बजे ब्यान्ड बाजा सहितको ¥याली निकालेर पृथ्वी जयन्ती मनाइने मूल आयोजक समितिका सचिव राम खड्काले बताए ।
सचिव खड्काका अनुसार इटहरी बजार परिक्रमा गरेर इटहरीको धरानलाइनमा रहेको स्काइ प्लाजा अगाडि सार्वजनिक कार्यक्रम गरिने भएको छ । कार्यक्रम परिसरमा पृथ्वीनारायण शाहको प्रतिमा राखिने र विभिन्न विद्यालयका विद्यार्थीहरूबीच राष्ट्र निर्माण तथा पृथ्वीनारायण शाहको योगदानका बारेमा वक्तृत्वकला हुने बताइएको छ ।
कार्यक्रमलाई छोटो सम्बोधन गर्न नेपाली राजनीति र वामपन्थी आन्दोलनका जानकार चर्चित प्राध्यापक डाक्टर सुरेन्द्र केसी र चिन्तक डाक्टर राजेश अहिराज आउनेछन् । २०६९ सालबाट इटहरीमा हरेक वर्ष पृथ्वी जयन्ती मनाउन थालिएको हो ।