काठमाडौंः साउदी अरबले गैरकानुनी रूपमा बसेका नेपालीलगायत अन्य विदेशी कामदारमाथि कारबाही तीव्र पारेको छ । साउदीले आवास, श्रम र सीमा उल्लंघन गर्नेहरूलाई धमाधम नियन्त्रणमा लिइरहेको जनाइएको छ ।

साउदीको आन्तरिक मन्त्रालयका अनुसार २५ जुलाईदेखि ३१ अगस्टसम्मको अवधिमा २१ हजार ४९ जनालाई पक्राउ गरिएको छ । जसमा १३ हजार २ सय ९ रेसिडेन्सी नियम, ५ हजार १ सय ७७ सीमा सुरक्षा र २ हजार ६ सय ६३ श्रम कानुन उल्लंघन गर्नेहरू रहेका छन् ।

१ हजार ५ सय ४० जनालाई अवैध रूपमा सीमा पार गर्ने प्रयास गरेकामा पक्राउ गरिएको छ । जसमा ४३ प्रतिशत यमनी, ५६ प्रतिशत इथियोपियाली र १ प्रतिशत अन्य राष्ट्रियताका रूपमा पहिचान गरिएको थियो । यसबाहेक, अवैध रूपमा राज्य छोड्न खोज्ने ४२ जनालाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

उल्लंघन गर्नेलाई ओसारपसार, आश्रय दिने र रोजगारी दिने पाँच जनालाई पनि पक्राउ गरिएको जनाइएको छ । घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

साथै, मन्त्रालयले मानिसहरूलाई मक्का, रियाद र पूर्वी प्रान्तका क्षेत्रहरूमा ९११ नम्बर र राज्यका बाँकी क्षेत्रहरूमा ९९९ र ९९६ नम्बर हरूमा कल गरेर उल्लंघनका कुनै पनि घटनाहरू रिपोर्ट गर्न आग्रह गरेको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ

९९ नेपालीलाई एक्जिट भिसा

साउदीमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ९९ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित मुलुकको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमतिपत्र ९इकामा० नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्न‘पर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड् नुपर्ने कानुनी व्यवस्था छ ।

एक्जिट भिसाको प्रोसेस निःशुल्क हुने दूतावासले जनाएको छ । साथै, यस्ता घटनालाई कम गर्न दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपालीलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।